काठमाडौं, १६ जेठ । लामो समय भूमिगत राजनीति गरेर पटक पटक चर्चामा आइरहने पात्र हुन्– नेत्र विक्रम चन्द विप्लव । विप्लव भन्ने वित्तिकै आम युवाहरुमा ‘युवा जोशको रक्त संचार हुने गर्छ । केही महिनाअघि देखि शान्तिपूर्ण राजनीतिको गोरेटोमा यात्रा गरिरहेका नेत्र विक्रम चन्द कस्तो घरमा बस्छन् ? के उनी अरु पार्टीका नेता जस्तै आलिसान महलमा बस्छन् या गगनचुम्बी भवनहरुमा रमाइलो गरिरहेका त छैनन् ?
हिजो झूपडीमा बस्ने नेताहरुको सांसारिक मोह र जीवन शैलीको विषयमा तिब्र आलोचना भइरहेको बेला यस्तो प्रश्न उठ्नु स्वभाविक हो ।
त्यसमाथि सर्वहाराको राजनीति गर्नेहरुमाथि सर्वसाधारणले यस्तो प्रश्न गर्नुपर्छ । सामान्यतया नेताहरुको जीवन जनताको जस्तै होस् भन्ने आम चाहाना हुन्छ । नेत्र विक्रम चन्द विप्लवको निवास ठीक त्यस्तै रहेको पाइएको छ । कपलिवस्तुस्थित उनको निवासमा पुगेर अन्तर्वार्ता लिएका पत्रकार राजेन्द्र बानियालाई विप्लवको निवास देखेपछि पत्याउनै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमा निवास सार्वजनिक गरेका छन् ।
सामान्य झूपडीमा गहुँको खरको छानो हालिएको झूपडीमै विप्लव बस्दै आएका छन् । उनको यो पुख्र्यौली घर हो । तत्कालिन माओवादीमा रहँदा पनि विप्लवले कुनै पनि सार्वजनिक लाभको पद धारण गरेनन् ।
पार्टी विभाजन भएपछि क्रमस नेतृत्वमा आएका उनी केही वर्षअघि मात्रै भूमिगत राजनीतिमा होमिएका थिए । विष्फोट, अपहरण लगायत हजारौँ कसुरमा उनी नेतृत्वका पार्टीका कार्यकर्ताहरु अहिले पनि जेलको काल कोठरीमा छन् । जेलबाट कार्यकर्ता रिहाईको सर्तमा वार्तामा आएका विप्लवलाई यतिबेला सरकारले झूक्याएको आशंका सर्वसाधरणले गर्न थालेका छन् ।
उनी सरकार विरुद्ध आक्रमक रुपमा जान पनि सकेका छैनन् । केहीदिन अघि सर्वदलिय सरकार बने आफूहरु पनि सहभागी हुने विज्ञप्ति निकालेपछि उनी विवादमा समेत आएका थिए ।
गाउँको घरमै रहेका उनी स्थानिय जनताको बारीमा गहुँ काट्न गएको तस्विर समेत केहीदिन अघि सार्वजनिक भएको थियो । उनी निष्ठावान र सादगी नेताको रुपमा समेत चिनिन्छन् ।