धादिङ्ग । धादिङ्गको खनियाँबास गाउँपालिकामा पुतली चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका फूल तामाङ्गले मौन अवधिमा मतदातालाई भैँसी काटेर खुवाएको बताएका छन् । ‘झार्लाङ्गमा रमाइलो गराइदिएको हुँ । भैँसी काटेर खान दिएको हुँ,’ उनले दियोपोस्टसँग भने,‘म स्वतन्त्र मान्छे । पार्टीहरु जस्तो होइन । मैले के नै गर्न सक्छु र ?’
त्यस्तै उनले आफूलाई नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षको टिकट दिने ग्यारेन्टी भएपछि आफू धादिङ्गबाट खनियाबास तर्फ लागेपछि बाटैमा टिकट खोसिएको समेत बताए । ‘गाउँको विकास गरौँ र भ्रष्टाचार अन्त्य गरौँ भनेर म स्वतन्त्र उम्मेदवार बनेको हुँ,’ उनले भने,‘पार्टीले बाटैमा टिकट खोसेर अर्को व्यक्तिलाई दियो । म एउटा व्यक्ति मात्रै हुँ । दलहरुले जस्तो मनोमानी गरेको छैन ।’
उनले लागु औषध कारोबारीको हब भनेर चिनिने धादिङ्गको खनियाँबास ५ सत्यदेविको माथिल्लो वस्तीमा लाखौँ रुपैयाँ बाढेको आरोप छ । त्यस्तै झार्लाङ्गमा पनि लाखौँ बाढेको आरोप छ । तामाङ्गका आफन्त र नातागोता सबै अन्तर्राष्ट्रिय लागु औषध तस्करीको गिरोहमा समलग्न भएका कारण उनले स्रोत नखुलेको बोराको बोरा पैसा बाढेको स्थानियले दियोपोस्टलाई बताएका छन् ।
उनले मतदातालाई प्रभावित पार्न भैँसी काटेर खुवाएको पनि निर्वाचन आचार संहिता प्रतिकुलको घटना हो ।