
एजेन्सी । गाजामा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ । आक्रमणमा ४०० जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गाजा सहरको एक रंगशाला नजिकै भएको यस्तै एक आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको बताइएको छ । बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको दबाबले युद्धविराम सम्झौता हुन सक्ने कतारी मध्यस्थकर्ताहरूले आशा व्यक्त गरेका छन्।
यसअघि मार्च महिनामा इजरायलले गाजामा पुनः आक्रमण गरेपछि दुई महिनाको युद्धविराम विफल भएको थियो। १९ जनवरीदेखि सुरु भएको उक्त युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भनिएको थियो, तर पहिलो चरण पार गर्नै नसकी सम्झौता टुटेको थियो।