रोकिएन भ्रष्टाचारको कुलत, नैतिक स्वास्थ्यमा गम्भीर गडबढी

दियोपोस्ट संवाददाता

काठमाडौं, असार ६ । सरकारले भ्रष्टचारमा शून्य सहनशीलताको नीति लिँदै आए पनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार रोकिन नसकेका पुष्टि पछिल्ला घट्नाहरूले गरेका छन् । लामो समयदेखि भ्रष्टाचारको कुलतमा फस्दै आएका सरकारी अधिकारीहरूमा नैतिकता स्खलित हुन पुगेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि विभाग नै रित्तिएको छ । केही दिनअघि जुम्लामा पनि मालपोत अधिकृतसहितका कर्मचारीमाथि मुद्दा दायर गरिएको थियो । मालपोत, नापी, यातायात कार्यालयहरू नै रित्तिने गरी भ्रष्टाचार मुद्दा दायर हुने क्रम बढेको अख्तियारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही महिनाअघि मात्रै एउटा अभियान ल्यायो ‘प्रत्येक कर्मचारीले कार्यालय प्रवेश गर्नुअघि भ्रष्टाचार नगर्ने प्रण गर्दै कार्यालय प्रवेश गर्ने र काम गर्ने ।’ तर प्रधानमन्त्री कार्यालयको सो अभियानले कर्मचारीमा रहेको भ्रष्टाचारको कुलत रोक्न सकेन । भ्रष्टाचारविरुद्धका अध्येताहरूका अनुसार मानिसमा तीन प्रकारका स्वास्थ्य हुन्छन् । जसअनुसार शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र नैतिक स्वास्थ्य । यीमध्ये नेपालका कर्मचारीलगायत धेरै व्यक्तिमा नैतिक स्वास्थ्यमा गम्भीर गडबढी देखिन थालेको हो । जबसम्म यहाँका कर्मचारीमा नैतिक स्वास्थ्यमा सुधार आउँदैन तबसम्म भ्रष्टाचार रोकिने सम्भावना देखिँदैन । यद्यपि, यहाँको निजी क्षेत्र तथा सामाजिक क्षेत्रमा पनि त्यस्तै खालका गम्भीर समस्याहरू छन् ।

जानकारहरूका अनुसार भ्रष्टाचारको कुलतमा फस्नु लागूऔषधको कुलतमा फस्नुभन्दा पनि खतरनाक हुन्छ । लागूऔषधको कुलतमा फसेकाहरूलाई विभिन्न पुनस्र्थापना केन्द्रहरूमा लगेर उपचार गराउन सकिन्छ तर भ्रष्टाचारको कुलतमा फसेकालाई कुनै प्रकारको उपचार गर्न सकिँदैन । सबैभन्दा राम्रो उपचार भनेकै उनीहरू नैतिक रूपमा आफैं सुध्रने हो । तर, नेपालमा भ्रष्टाचारीहरू सुध्रने कुनै संकेत देखिन सकेको छैन । विभिन्न अध्ययनले भ्रष्टाचारमा लिप्त भएर मुद्दा परी जागिर चट भएकाहरू फेरि बिचौलिया तथा माफियाका रूपमा समाजमा शक्तिशाली हुने गरेको पाइएको छ ।

समाचार टिप्पणी
भ्रष्टचारको क्लिट गार्ड समीकरणले भ्रष्टचार बढ्नुका मुख्य कारणका रूपमा शासक तथा कर्मचारीको एकाधिकार रहनु, अधिकारको केन्द्रीकरण हुनु, तालुक निकायबाट तजबिजी अधिकारमाथि नियमन हुन नसक्नु , पारदर्शिता कायम गर्न नसक्नु, सांस्कृतिक विचलन आउनुलगायतका कारण औंल्याएको छ ।

भ्रष्टाचारको क्लिट गार्ड समीकरणले भ्रष्टाचार बढ्नुमा मुख्य कारणका रूपमा शासक तथा कर्मचारीको एकाधिकार रहनु, अधिकारको केन्द्रीकरण हुनु, तालुक निकायबाट तजबिजी अधिकारमाथि नियमन हुन नसक्नु, पारदर्शिता कायम गर्न नसक्नु, सांस्कृतिक विचलन आउनुलगायतका कारण औंल्याएको छ । २४ करोडभन्दा बढी अनियमतिता भएको खाद्य प्रविधि विभागले गर्ने कामकारबाही र उसको खरिद प्रक्रियाबारे तालुक निकायका अधिकारीहरूले कुनै प्रकारको नियमन नगर्दा त्यति धेरै भ्रष्टाचार भएको हो । आन्तरिक नियन्त्रण प्रणालीसमेत कमजोर हुन पुग्दा भ्रष्टाचारका ठूलाठूला काण्ड घटिरहेका छन् ।
अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफू मातहतका निकायमाथि कडा अनुगमन गर्न सकेको छैन । आफैंले बनाएका नियमहरू लागू गर्न नसक्दा पनि कर्मचारीहरूमा भ्रष्ट प्रवृत्ति मौलाइरहेको देखिन्छ । अख्तियारका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले केही दिनअघि मात्रै कुनै पनि कार्यालयका कर्मचारीहरू घुससहित रंगेहात पक्राउ परेमा कार्यालय प्रमुखलाई पनि जिम्मेवार बनाइने बताए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

भ्रष्टाचारका अध्येताका अनुसार नैतिक स्वास्थ्यमा आएको गम्भीर गडबढीका कारण नै नेपालको न्यायपालिकामा बेन्च सपिङको नाममा ठूलो अनियमितता भइरहेको छ । तर, त्यस्ता अनियमितता बाहिर आउन सकिरहेका छैनन् । त्यसैगरी राजनीतिक क्षेत्रमा केमल नोजिङ, पोर्क ब्यारालिङ र जेरी मेज्डलिङ खालका भ्रष्टाचार व्याप्त छ ।

\ विशेष राजनीतिक नेतृत्वबाट नीतिगत भ्रष्टाचारको रूपमा बजेटको समयमा यस्ता भ्रष्टाचारहरू हुने गर्छन् । त्यस्ता खालका भ्रष्टाचारलाई नीतिगत भ्रष्टाचार पनि भनिन्छ । यसैगरी, राजस्व क्षेत्रमा कोलोजिक भ्रष्टाचार हुने गरेको छ भने नेपालको सार्वजनिक प्रशासनमा पेटी करप्सन पनि आध्यात्मिक रूपमा हुने गरेको छ ।

यस्तै, संस्थागत भ्रष्टाचार, वैक्तिक भ्रष्टाचार र मिलिभगतमा धेरै प्रकारका भ्रष्टाचार भइरहेका तथ्यहरूसमेत सार्वजनिक भइरहेका छन् । राजधानी दैनिकबाट

सम्बन्धित खबर