गौतमबुद्ध विमानस्थलको लागत ३५ अर्ब पुग्दै

दियो पोस्ट  

काठमाडौं, असार ९ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ।

विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग्रहणमा लागेकाले लागत बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। जग्गा अधिग्रहणलाई विमानस्थलको भौतिक पूर्वाधारसँग नजोडिएकाले पनि यसलाई एकमुष्ट खर्चमा देखाउँदा भने विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको प्राधिकरणको भनाइ छ।

विमानस्थल निर्माण र पछिल्लो समय लागेको प्राविधिक कामको ठेक्कासमेत गरेर करिब साढे ७ अर्ब छुट्टयाइएको छ। २३ अर्ब ५९ करोड मुआब्जाको निम्ति, कार्गो भवन निर्माणमा ९० करोड, बाहिरी पेरिमिटर सडक ९० करोड, फिनिसिङ तथा खोला डाइभर्सनमा ५० करोड खर्च हुने अनुमान आयोजनाको छ।

विमानस्थल निर्माणका निम्ति कार्गो विल्डिङबाट एप्रोनसँग जोड्ने सडक निर्माण गर्नुपर्ने, एरोब्रिज राख्नेसहितको काममा अझै डेढ अर्ब खर्च अनुमान गरिएको छ। सम्पूर्ण काम सक्दा र यो विमानस्थल सञ्चालनमा ल्याउँदासम्म करिब ३५ अर्ब रुपैयाँ खर्च हुने अनुमान पनि विमानस्थल आयोजनाको छ। प्राधिकरणका अनुसार यो विमानस्थल बनाउन करिब साढे ७ अर्ब रुपैयाँको मात्रै ठेक्का भएर मुख्य भौतिक पूर्वाधार निर्माणको काम गरिएको हो।

यो रकमबाट विमानस्थलको मुख्य धावनमार्ग, यात्रु सेवा भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, एप्रोनसहितको काम हुनेछ। यो बाहेक ठूलो रकम विमानस्थलका निम्ति आवश्यक जग्गामा खर्च भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

उनका अनुसार विमानस्थलको निम्ति आवश्यक जग्गा व्यवस्थापनमा सबैभन्दा ठूलो रकम खर्च भएको छ। यो रकमका निम्ति विमानस्थल निर्माणपूर्व ५ सय बिघा जग्गा अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। सोहीअनुसार मुआब्जाको लागत करिब २३ अर्ब ५९ करोड रुपैयाँ छुट्टयाइएको हो।

यो पैसाबाट हालसम्म करिब मुआब्जा वितरण सकिने चरणमा पुगेको छ। विमानस्थल बन्ने भित्री क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपूर्व अधिग्रहण भइसकेको थियो। यसबाहेक विमानस्थल वरपरको क्षेत्रका निम्ति आवश्यक थप जग्गा अधिग्रहण भएको अधिकारीले बताए। मुआब्जा दिनुपर्ने रकममा अब जम्मा ५ अर्ब मात्रै बाँकी छ।

यो रकम पनि यही असारभित्रै वितरण भइसक्ने उल्लेख छ। गाउँ ब्लक तथा विवादित बाहेकको जग्गाको मुआब्जा वितरण सकिएको पनि विमानस्थल आयोजनाले जानकारी दिएको छ।

साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ।

विमानस्थल वरपरको बाटोघाटोमा परेका र गाउँ ब्लक भनेर छुट्टयाएको क्षेत्रमा असार मसान्तसम्म करिब २३ सय वटा फाइलका निम्ति मुआब्जा भुक्तानी हुने पनि आयोजनाले जानकारी दिएको छ। यो मुआब्जा दिने प्रक्रिया गत फागुनदेखि अगाडि बढेको प्रक्रिया नै भएकाले यो असारभित्र दिइसक्ने आयोजनाको भनाइ छ।

यो विमानस्थल निर्माण आगामी पुसमा निर्माण सक्ने र व्यावसायिक उडानको निम्ति भने अझै १ वर्ष लाग्ने भएको छ।

विमानस्थल निर्माणपछि आन्तरिक विमानस्थल अन्तर्राष्ट्रियमा स्तरोन्नति हुनेछ। त्यसपछि अन्तर्राष्ट्रिय वायुसेवाले नेपालमा देख्ने उडानको सम्भावना, यात्रु सेवा तथा आवश्यक प्रक्रिया पूरा गरेर नियमित उडान सुरु गर्न भने एक वर्ष नै लाग्ने अनुमान विमानस्थल आयोजनाको छ। विमानस्थल निर्माण भने अगामी पुसभित्र सम्पन्न गर्ने गरी निर्माण भइरहेको उल्लेख छ। यो विमानस्थल यही असार १५ गते निर्माण सक्ने गरी ठेक्का लागेको भए पनि पछिल्लो समयसीमासम्म जम्मा करिब ८० प्रतिशत काम सकिने भएको छ।

थप २० प्रतिशत कामका निम्ति अर्को ६ महिना थप्न आवश्यक भएकाले आवश्यक प्रक्रिया पूरा भइसकेको पनि आयोजनाले जनाएको छ। यो विमानस्थल निर्माणमा सुरुका २ वर्ष कामको गति न्यून भएको, २०७१ पुसदेखि सुरु भएको विमानस्थल २०७४ को पुस (३ वर्ष) मा जम्मा २७ प्रतिशत मात्रै पूरा भएको र त्यसपछिका ६ महिनामा ४६ प्रतिशत काम भएको थियो। विमानस्थलको राम्रो प्रगति भने पछिल्लो एक वर्षमै भएको पनि उल्लेख छ। निर्माण सामग्रीको अभाव र पटकपटकको अवरोधले विमानस्थल निर्माण समयमै नसकिँदा तेस्रोपटक समय थप भएको छ।

२०७४ पुसभित्र निर्माण सक्ने गरी ठेक्का लागेको भए पनि विभिन्न समस्या देखाउँदै विमानस्थल निर्माणको समय थप हुँदै आएको छ। २०७५ पुसमै सक्नुपर्ने भए पनि एक वर्ष थप गरेर असारको समयसीमा निर्धारण भएको थियो। विमानस्थलको ३ हजार मिटरको धावनमार्ग र ६ वटा जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माण सकिएको छ। जहाज धावनमार्गतर्फ निस्कने तीनवटा ट्याक्सी वे, ६ तले कन्ट्रोल टावर, यात्रु आवतजावत गर्ने टर्मिनल भवन र विमानस्थलको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको अधिकारीको भनाइ छ। कार्गाे भवन र एयर ट्राफिक म्यानेजमेन्ट इक्यूपमेन्ट सहितको काम बाँकी छ।

यो विमानस्थलको संरचना करिब तयारी अवस्थामा देखिएपछि यसलाई अन्तिम रूप दिन, साजसज्जा गर्न, भित्री काम गर्न, उडान तथा अवतरणका निम्ति उपकरण जडानसहितको एरोनटिकल इलेक्ट्रिकको काम बाँकी छ। यो सबै काम सम्पन्न गरेर विमानस्थल सञ्चालनयोग्य बनाउन ६ महिना लाग्ने भएकाले पनि यसको सञ्चालन मिति सन् २०२० को जनवरीलाई मात्रै तय भएको हो।

यो विमानस्थल निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको हो। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यो विमानस्थल दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनामार्फत निर्माण गरिएको हो।

विमानस्थलमा ७ करोड अमेरिकी डलर लगानीको यो विमानस्थल निर्माण गर्न एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ।
अन्नपूर्णपोष्ट दैनिकबाट

TATA ADD