
दियोपोष्ट संवाददाता
धादिङ, ७ असार । सिद्धलेक गाउँपालिका उच्च अधिकारीको मिलेमतोमा करोडौंको गिट्टी बालुवा ठेक्कामा अनियमितता भएको पाइएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल सहितको उच्च अधिकारीको मिलेमतोमा गत वर्ष खोलिएको ३ करोड रुपैयाँको गिटि बालुवा ठेक्कामा व्यापक अनियमितता भएको तथ्य दियोपोष्टले फेला पारेको छ ।
गाउँपालिकाकै उच्च अधिकारीको ठेकेदारसँगको साँठगाँठमा गाउँपालिकालाई २ करोड रुपैयाँ भन्दाबढीको क्षेति पुर्याइएको तथ्य भेटिएको हो ।

आर्थिक वर्ष २०७६/७७ का लागि आन्तरिक आयको ठेक्का बन्दोवस्त गर्ने सम्बन्धमा गाउँपालिकाले २०७६ असार १० गते शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।
सिद्धलेक गाउँपालिका क्षेत्र भित्र पर्ने त्रिशुली नदि किनार खरेनीटार, त्रिशुली १, त्रिशुली ३, विहानी पम्प, छहरा, गजुरी, पीपलटार १, पीपलटार २ र आदमघाट क्षेत्रहरुवाट स्वीकृत परिमाण भन्दा वढि उत्खनन्नहुने गरी रोडा, ढुंगा, वालुवा, ग्राभेल निकासी बिक्री कर संकलनको लागि ३ करोड मुल्यको ठेक्का आह्वान गरेको थियो ।

उक्त ठेक्का धादिङको निलकण्ठ ५ धादिङवेशीमै रहेको ओम श्रेष्ठ कन्स्ट्रक्सनले पारेको थियो । २०७६ भदौ १० गते भएको ठेक्का सम्झौताको कागजातमा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल सहितका उच्च अधिकारी र ठेकेदार कम्पनिका तर्फबाट बाबुकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेखित विवरण अनुसार ठेकेदार कम्पनिले गाउँपालिकालाई ३ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने रकम सम्झौता भएकै मितिमा जम्मा गर्नु पर्ने उल्लेख छ ।

त्यस्तै पौष मसान्तसम्म ठेक्का कबोल रकमको ३७ प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने उल्लेख छ । २०७६ चैत्र मसान्तसम्म ठेकेदार कम्पनिले गाउँपालिकाको खातामा कुल कबोल अंकको ३३ प्रतिशत रकम जम्मा गर्नुपर्ने उल्लेख छ ।
सम्झौता भएको बखतमा ओम श्रेष्ठ कन्स्ट्रक्सनले गाउँपालिकाको कुमारी बैंकमा रहेको खातानम्बर ०८१००३५१२४६००००१ मा २०७६ भदौ ९ गते ६९ लाख ३३ हजार रुपैयाँ र १३ गते ३३ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।

तर, सम्झौता बमोजिम पौष मसान्तसम्म श्रेष्ठ कन्स्ट्रक्सनले कबोल रकम ३ करोडको ३७ प्रतिशतले हुनआउने एक करोड ११ लाख रुपैयाँ जम्मा नगरेको पाइएको छ । त्यस्तै चैत्र मसान्तसम्म ठेकेदार कम्पनिले गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने कुल कबोल रकम ३ करोडको ३३ प्रतिशतले हुनआउने ९९ लाख रुपैया जम्मा गरेको देखिँदैन ।
ठेकेदार कम्पनिलाई बुझाउनु पर्ने २ करोड १६ लाख रुपैयाँ रकम नबुझाएपनि निर्वाद रुपमा ढुङ्गा गिटी निकासी गरिरहेको छ ।

ठेक्का सम्झौताको १२ नम्बर बुँदामा तोकिएको समयमा किस्ता बुझाउनुपर्ने उल्लेख छ । यदि अन्तिम किस्ता रकम समेत तोकिएको समयमा नबुझाए ठेकेदार कम्पनिले बुझाएको बैंक जमानत रकमबाट सम्झौता अनुसारको ठेक्का रकम जफत गर्ने उल्लेख छ ।
ठेकेदार कम्पनिका तर्फबाट धादिङमै रहेको प्रभु बैंकलाई २ करोड १६ लाख ७ हजार रुपैयाँको जमानत बसिदिएको देखिन्छ ।

गाउँपालिकाले यस्ता ठेकेदार कम्पनिको जमानत जफत गर्नुपर्ने भएता पनि अध्यक्ष प्रेमनाथ सिलवाल र प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलको मिलेमतोमा उन्मुक्ति दिइएको छ ।
स्रोतका अनुसार ठेकेदार कम्पनीका मालिक बाबुकृष्ण श्रेष्ठले गाउँपालिका अध्यक्ष सिलवाललाई आर्थिक प्रभावमा पारेका छन् । यता प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने राजधानी काठमाडौंमा निर्माण भइरहेको भव्य बंगालालाई गिटि बालुवा निशुल्क पाएका छन् ।

उनको घरमा लकडाउनको अवधिकमा समेत सिद्धलेक गाउँपालिकाबाट निर्वाद रुपमा गिटि बालुवा आइरहेको स्रोतले जनाएको छ ।
‘गाउँपालिकाले यस्ता ठेकेदारको जमानत जफत गर्नुपर्ने हो । तर, गाउँपालिकाले चिठी काटेको नाटक गरिरहेको छ । चिठी सम्बन्धित व्यक्तिकोमा पुगेको छैन भनिरहेको छ । तर, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसँग ठेकेदारको उठबस भइरहेको देखिन्छ,’ गाउँपालिकासँग सरोकार राख्ने एक स्थानियले दियोपोष्टलाई भने ।
ठेकेदार भन्छन्,‘लकडाउनले तिर्न सकेनौँ, तिर्ने तर्खरमा छौँ’

गिटी बालुवाको ठेक्का हात पार्ने ओम श्रेष्ठ कन्स्ट्रक्सनका मालिक बाबु कृष्ण श्रेष्ठ आफूहरुलाई गाउँपालिकाले मर्का पारेको बताउँछन् । आफूहरुले लकडाउनका कारण रकम तिर्न नसकेको समेत उनको दाबी छ । तर, सरकारले चैत्र ११ गतेदेखि मात्रै लकडाउन घोषणा गरेको हो । उनको कम्पनिले पौष मसान्तको किस्ता समेत तिरेका छैनन् । चैत्र मसान्तमा समेत किस्ता नबुझाए धरौटी जफत गर्ने सम्झौतामा उल्लेख भएपनि उनले भने गाउँपालिकाका उच्च अधिकारीको मिलेमतोमा उन्मुक्ति पाउँदै आएका छन् ।
‘रकम तिर्ने तरखरमा थियौँ । लकडाउन भइहाल्यो । तिर्न यसैपनि परिहाल्छ । बैंक ग्यारेन्टी पेश गरेका छौँ । अब तिर्ने हो हजुर तिर्ने हो,’ दियोपोष्टसँग श्रेष्ठले भने,‘गाउँपालिकाबाट चीठी आएको छ । बुझाउने भनेको लकडाउन भयो ।’
श्रेष्ठले लकडाउनका कारण आफूले रकम बुझाउन नसकेको भन्दै पालिकामा छुट पाउनका लागि निवेदन समेत दिएको बताए । तर, सम्झौताको तीन नम्बर बुँदामा भने ठेक्का अवधिमा कुनै पनि बन्द हड्ताल भए ठेकेदार कम्पनिले क्षतिपूर्ति नपाउने उल्लेख छ । लकडाउन अवधिमै पनि गिटी बालुवा, रोडा उत्खनन् तथा निकासी कर उठाउने कार्य भने जारी रहेको थियो ।
‘काम अलिअलि चलिराखेको छ । हिँउदमा थुपारेको सामान पनि उठाउन पाएको छैन । बर्खा पनि लाग्यो । हामीलाई मर्का छ । पालिकाले ठेक्का निकालेको ठाउँहरुबाट करहरु उठ्छ भनेको थियो त्यो पनि भएन । नजिकैको क्रसर पनि चलेन,’ ओम श्रेष्ठ कन्स्ट्रक्सनका मालिक श्रेष्ठले भने,‘हामीले उठ्दै नउठेर तिर्न नसकेका हौँ । त्यही उठेको पैसा हामीले दिने हो । तर उठाउनै पाएनौँ भने हामीलाई केही सहुलियत त हुन पर्यो नी ।’
उनले गाउँपालिकामा सहुलियतका लागि निवेदन समेत दिएको बताएका छन् । उनको निवेदन अनुसार छुट दिने विषयमा छलफल भइरहेको गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवाल बताउँछन् ।
‘पहिलो किस्ता आयो । दोस्रो किस्ताबाट रकम आएको छैन । हामीले पत्राचार गरेका छौँ । चैत्र ११ गतेबाट लकडाउन भयो । त्यसपछि ठेकेदार कम्पनिले मलाई मिनाहा गर्नुपर्छ भनेर एउटा निवेदन हालेको छ,’ गाउँपालिका अध्यक्ष सिलवाल भन्छन्,‘त्यो निवेदन उपर हाम्रो गाउँकार्यपालिकाले छलफल गरिरहेको छ । हामी छिट्टै निर्णय गर्नेछौँ ।’
पालिका अध्यक्ष सिलवाल गाउँपालिकाले पौस मसान्तासम्मको किस्ता समेत नबुझाउने ठेकेदार कम्पनिलाई पत्राचार गरेको दाबी गरे । तर, पत्राचार गरेको भनिएपनि गाउँपालिकाका उच्च अधिकारीसँग ठेकेदार श्रेष्ठको उठ्बस भने नियमित चलिरहेको उच्च स्रोत बताउँछ ।
प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलको नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उनको नम्बरमा सम्पर्क हुन सकेन ।