दियोपोष्ट संवाददाता
धादिङ, ३२ जेठ । आमसञ्चार क्षेत्रका विज्ञहरुका अनुसार ‘मिडिया असली प्रतिपक्ष’ हो । सत्ता, सरकार गलत क्रियाकलाप र इतिहासले बनाएका रुढीवादी मानकहरुमाथि मिडियाले प्रश्न गर्नुपर्छ ।
अनियमितता, भ्रष्टाचार, विभेद र असमानताका विरुद्ध सञ्चारमाध्यमले प्रश्न गरेपछि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका समेत सहि ट्रयाकमा आउँछन् भनेरै सञ्चारमाध्यमलाई ‘चौथो अंग’ रुपमा समेत व्याख्या गरिन्छ ।
हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर, केही खराब व्यक्तिहरुले हाम्रो संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै मिडियालाई एउटा कमाउ उद्योग र विभिन्न धन्दाको पहरेदार बनाएका छन् ।
राजधानी काठमाडौंमै सञ्चालित ठूला मिडियाका मालिकहरुले कसरी मिडियाको आवरणमा कालोधन्दा गरिरहेका छन् भन्ने प्रमाणसहितको समाचार दियोपोष्ट डटकमले सार्वजनिक गर्दै आएको छ ।
उदारवाद र अधिकारको वकालत गर्नेहरु विदेशीको पैसा लिएर विदेशीकै एजेन्डा नेपाली मिडियामा कसरी सेट गर्छन् भन्ने गतिलो उदाहरण हुने रहस्यमयी लगानी प्रकरण पनि दियोपोष्टले सार्वजनिक गरेकै हो ।
आज हामी जनताको करबाट तलबभत्ता खाने जनप्रतिनिधिहरु आफ्नो काला कतुर्त लुकाउन कसरी सञ्चारमाध्यमलाई दुरुपयोग गर्छन् भन्ने तथ्यसहितको समाचार सार्वजनिक गर्दैछौँ ।
दियोपोष्ट डटकममा शुक्रबार एउटा समाचार सार्वजनिक भयो,–‘सिद्धलेक गाउँपालिका बन्यो अध्यक्षको आफन्त ‘भर्तिकेन्द्र’ : सम्धी पिए र ज्वाइँलाई जागिर !’
सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालका सम्धी टंक तिमिल्सिना नासु सरहको तलब खानेगरी गाउँपालिकामा नियुक्त भएका छन् । गाउँपालिकाको वेभसाइट अनुसार तिमिल्सिना आफ्नै सम्धी प्रेमनाथ सिलवालका निजि सचिव हुन् । सिद्धलेकका जनतालाई तिमिल्सिना प्रेमनाथ सिवालका सम्धी हुन् भन्ने जगजाहेरै छ ।
शिक्षा शाखामा जबरजस्त जागिर खाइरहेका बलाराम अधिकारी पनि सिलवालकै ज्वाइँ हुन् भन्ने आम जनतालाई थाहा नभएको होइन । जनताको करबाट सञ्चालित निकायमा अध्यक्षकै आफन्त र नातागोताको हालीमुहाली भएपछि आम मान्छेले प्रश्न गर्नुपर्छ ।
सञ्चार माध्यमले त अवश्य गर्छ नै । समाचार सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष लगायत कुनैपनि पदाधिकारीले यो ‘गलत हो उहाँ सम्धी होइन’ भनेर दियोपोष्टमा कुनैपनि माध्यम मार्फत खण्डन प्राप्त भएको छैन ।
तर, जेठ ३० गतेको मिति देखिनेगरी फेसबुक पेज मार्फत एउटा विज्ञप्ति सार्वजनिक गर्यो । ‘दियोपोष्ट नामको अनलाइन साईटमा यस गा.पा अध्यक्ष र उपाध्यक्षको नामसँग सम्बनिधत शिर्षक राखेर स्रोत बिनाको कपोकल्पीत, प्रतिशोधात्मक र पूर्वाग्रही रुपमा लेखिएको समाचार प्रति कुनै पनि भ्रममा नपरी वास्तविक र सत्यतथ्य प्रमाणसहितको आधिकारिक सुचना, जानकारी विवरणहरु प्रप्त गर्नका लागि सिद्धलेक गाउँपालिकाको कार्यालय वा गाउँपालिकाको आधिकारिक र जिम्मेवार व्यक्तिहरुसँग सम्पर्क गर्नुहुन सम्पूर्ण महानुभावहरुमा विनम्रताका साथ अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीमा हस्ताक्षेर भने गाउँपालिका अध्यक्ष सिलवालले नै गरेका छन् । उक्त विज्ञप्तिलाई लिएर धादिङबाट सञ्चालित ‘धादिङ सञ्चार डटकम’ नामक अनलाइनले ‘काउन्टर समाचार लेख्यो–‘दियोपोष्टमा प्रकाशित समाचार कपोल्कल्पित…. ।’
सामान्यतया एउटा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन अर्को सञ्चारमाध्यम मार्फत गर्नु प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिता विपरित हुन जान्छ । यदि राष्ट्रिय सुरक्षाको विषयमा भने जिम्मेवार निकायहरुले जुनसुकै सञ्चारमाध्यम मार्फत खण्डन गर्नसक्छन् ।
सिद्धलेक गाउँपालिका अध्यक्षले ‘सम्धीलाई पिए’ बनाएको समाचारले धादिङबाट सञ्चालित उक्त अनलाइनलाई किन काउन्टर समाचार लेख्न बाध्य बनायो ? हामीले तथ्य खोज्न तथ्य थाल्यौँ ।
सिद्धलेक गाउँपालिकाका एक जिम्मेवार व्यक्तिलाई सम्पर्क गर्दा काउन्टर समाचार लेख्ने उक्त अनलाइनका मालिक बद्री अधिकारीले गाउँपालिकाबाट ५ लाख रुपैयाँ लिने सम्झौता गरेका रहेछन् । ३ लाख रुपैयाँ पेस्की भने अधिकारीले सञ्चालन गरेको धादिङ सञ्चार प्रा.लीले बुझीसकेको रहेछ । जसको पान नम्बर ६०२४९४६२९ रहेको भ्याट बिल रहेछ ।
गाउँपालिकाको जिम्मेवार स्रोतका अनुसार सिद्धलेक दर्पण र जनतासँग गाउँपालिका प्रमुख कार्यक्रम सञ्चालन गर्नका लागि भनेर गाउँपालिकाले नै यतिका रकम खन्याएको रहेछ ।
शिर्षक जस्तो भएपनि तथ्यहरुले के प्रमाणित गरेको छ भने यो अनलाइनलाई गाउँपालिकाले आफ्ना गलत क्रियाकलापका बारेमा कसैले समाचार लेखिहाले काउन्टर गर्ने ‘हतियार’ बनाएको रहेछ । जसरी भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पक्षमा प्रचार गर्न वार्षिक एकैसाथ ४ हजार ३ सय करोड रुपैयाँ खर्च गरेका थिए ।
मोदीलाई देबत्वकरण गर्ने भारतीय मिडियालाई एनडिटिभीका चर्चित पत्रकार रविश कुमारले ‘गोदी’ मिडियाको संज्ञा दिएका थिए । तीनै गोदी मिडियाले यतिबेला नेपालले आफ्नो राजनीतिक नक्सा जारी गर्दा नेपाल विरुद्ध निरन्तर झूटो खबर फलाइरहेका छन् ।
यस्ता झूटा खबर फैलाउन भारतीय प्रधानमन्त्री नेतृत्वको सरकारले मिडियालाई लगानी गर्छन् । यसरी लगानीमा आउने समाचारलाई ‘पेड न्युज’ भनिन्छ ।
पैसाका लागि मनगढन्ते कहाँनी तयार गर्नु र उक्त समाचार लेखहरु डिजिटल पत्रिका, प्रीन्ट मिडियालाई कसैको पक्षमा खुलेआम लाग्नु पेड न्युज हो ।
नेपालका केही ठूला मिडियाले समेत पेड न्युजलाई स्थान दिने गर्छन् । यस्ता न्युजले संविधानको धारामा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको छ । त्यतिमात्रै होइन यसले हाम्रो संसदीय लोकतन्त्रलाई गम्भिर खतरामा पुर्याएको छ ।
धादिङमा ‘पेड न्युज’को धन्दा चलाउँदै आएका बद्री अधिकारीले अन्य स्थानिय निकायबाट समेत यसरी नै रकम बुझ्दै आएको खुलेको छ ।
जिल्लाकै निलकण्ठ नगरपालिकाबाट रेडियो निलकण्ठ र धादिङ सञ्चारको नाममा ९ लाख रुपैयाँ बुझेको पाइएको छ । त्यस्तै नेत्रावती गाउँपालिकाबाट ३ लाख रुपैयाँ, गंगाजमुना गाउँपालीकाबाट २ लाख बुझेको पाइएको छ ।
यी निकायमाथि कुनै सञ्चारमाध्यमले प्रश्न उठाएमा धादिङ सञ्चार, निलकण्ठ एफएम मार्फत ‘काउन्टर समाचार लेख्ने’ गरिएको पाइएको छ ।
एउटा सञ्चार माध्यमले प्रकाशित गरेको समाचारको काउन्टरमा अर्को कुनै सञ्चार माध्यमले ‘पैसा लिएर’ ‘समाचार नै प्रकाशित गर्नु’ कस्तो घटना हो भनेर हामीले सञ्चार क्षेत्रमा प्रध्यापन गर्दै आएका एक प्रध्यापकलाई सोधेका थियौँ ।
उनको जवाफ थियो,‘बाध्यतावस होस् वेश्यावृत्तिमा लागेका महिला वा पुरुषको पनि एउटा धर्म र इमान हुन्छ । तर, अहिलेका मिडियालाई धर्म र इमान भनेको थाहा छैन । जसको खान पायो उसैको गुणगान गाउने प्रवृत्ति बढ्दो छ । साना होस् वा ठूला मिडियामा त्यो समस्या देखिरहेको छु । यस्ता झूटो समाचार ‘फेक न्युज’ले समाजलाई भ्रष्टिकरण गर्दै लैजान्छ । मास मिडिया अर्थात आम सञ्चारले गलत गर्नेहरुमाथि प्रश्न गर्छन् । तर, यहाँ त गलत क्रियाकलापहरुकै गुणगान गाउन पनि मिडिया छ ।’