ठाकुर–महतोसहित चार नेता जसपाबाट निष्कासित

दियो पोस्ट  

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए ।

तर तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ आएको थिएन । यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।