नेकपा एमलेका १७ भातृ संगठनका नेताको विज्ञप्ति : केपी सरकार निरंकुश र स्वेच्छाचारी

दियो पोस्ट  

काठमाडौं, २० जेठ । नेकपा एमालेको माधव नेपाल समुहमा आवद्ध रहेका १७ भातृ संगठनका अध्यक्षले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध विज्ञप्ति निकालेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लाग्नुको सट्टा असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णय गरेको उनीहरुको ठहर छ ।


‘मुलुक यतिबेला नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण असाध्यै कठिन अवस्थाबाट गुज्रिरहेको छ । प्रत्येक दिन हाम्रा प्रियजन र आफन्तहरु गुमाउनु पर्ने पीडादायी अवस्थामा छौं । मानव समाजले यति धेरै निरीह र असुरक्षित महसुस गरेको यो पहिलो पटक हो,’ संयुक्त बक्तव्यमा भनिएको छ,‘यसको रोकथाम र नियन्त्रणका लागि सरकारले सबै पक्षसँग सहकार्य र समन्वय गरेर आफ्नो सम्पूर्ण राज्य संयन्त्र र शक्ति केन्द्रित गर्ने समय हो यो । तर, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार कोरोना भाइरस (कोभिड—१९) को महामारीलाई बेवास्ता गर्दै एकपछि अर्को असंबैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी निर्णय गरेर मुलुकलाई थप अस्थीरता र जटिलतातर्फ लैजान उद्यत हुनुहुन्छ ।’


उनीहरुले प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम नियन्त्रणमा सिंगोे पार्टी पंक्तिलाई स्वयंसेवकीय भूमिका निर्वाहका लागि परिचालित गर्नुपर्नेमा पार्टीको विधान र पद्दतिको ठाडो उल्लंघन गर्दै एकपछि अर्को स्वेच्छाचारी, निरंकुश र हैकमवादी निर्णय गर्नमा व्यस्त व्यस्त रहेको आरोप लगाएका छन् ।


‘(कोभिड—१९) को संक्रमणबाट हजारौंले ज्यान गुमाएका छन्, लाखौं संक्रमित छन् । अक्सिजन, भेन्टीलेटर लगायत स्वास्थ्य सामग्रीहरुको अभाव छ । यसप्रकारको सर्वाधिक संकटपूर्ण अवस्थाको वेवास्ता गर्दे प्रधानमन्त्रीको रुपमा असंबैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी निर्णय, पार्टी अध्यक्षको रुपमा पार्टीको विधान विपरीत स्वेच्छाचारी, निरंकुश र हैकमवादी निर्णयमा व्यस्त हुनु असाध्यै विडम्बनापूर्ण हो । हाम्रो पार्टीको अध्यक्ष भएर उहाँले गर्नुभएको यो गैरजिम्मेवार र बहुलट्ठीपूर्ण कामका लागि हामी जनतासँग माफी माग्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘हामीलाई थाहा छ–गत निर्वाचनमा हामीले नेपाली जनतालाई भनेका थियौं, ‘हामीलाई मत दिनुहोस् हामी देशमा राजनीतिक स्थायित्व कायम गरेर देशलाई समृद्धिको बाटोमा लैजान्छौं, समाजवादको बाटोमा लैजान्छौं ।’ हो, ‘सुखी नेपाली र समृद्ध नेपाल’ को सुन्दर सपना देखेर नेपाली जनताले कम्युनिष्ट पार्टीलाई झन्डै दुई तिहाई मत दिएका थिए । तर प्रधानमन्त्री ओलीको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति र स्वार्थका कारण त्यो विश्वासमाथि कुठाराघात भयो ।’

यस्तो छ विज्ञप्ति