होटल क्वारेन्टिन सचिकरणमा समेत सरकारी ‘सेटिङ’ : महानिर्देशक रुद्रसिंह तामाङ विवादमा !

दियो पोस्ट  

काठमाडौं, २० जेठ । चार्टर फ्लाइटको नाममा सोसाइटी ट्राभललाई लुटको धन्दा चलाउने स्विकृति दिएको सरकारले होटल क्वारेन्टिनमा समेत ‘सेटिङ’ गरेको फेला परेको छ ।


सरकारले ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको हो । नेपाल आउने विदेशी पर्यटकलाई लक्षित गरेर पर्यटन विभागले गरेको सुचिकरणमा विभागका महानिर्देशक रुद्रसिंह तामाङको स्वार्थ देखिएको स्रोतले जनाएको छ । उनले सत्तारुढ दल निकट व्यापारीले सञ्चालन गरेको होटललाई नै क्वारेन्टाइन बनाउन सुचिकरण गरेको आरोप छ । सरकारले खाडीमा वैदेशिक रोजगारी गएर फर्कनेलाई ५ दिन र अन्य देशबाट फर्कने विदेशी तथा नेपालीलाई १० दिन होटल बुकिङ गरेको प्रमाण देखाएपछि मात्रै नेपाल भित्रन दिने नियम बनाएको छ ।


नेपाल भित्रने पर्यटकहरुको प्रमुख गन्तव्य हो–ठमेल । कोरोना महामारीबीच २ वर्षदेखि सुनसान बनेको ठमेलमा रहेका होटललाई बाइपास गरेर विभागले सुची सार्वजनिक गरेको हो ।

विभागले काठमाडौंका सांग्रिला, होटल ¥याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकेको छ । यी सबै होटल ठूला पहुँचवाला व्यक्तिले सञ्चालन गरेका हुन् । ती पहुँचावाल व्यक्तिहरुको प्रभावमा विभागका महानिर्देशक रुद्रसिंह तामाङले सुचिकरण गरेको स्रोतको दाबी छ ।


एलफ्ट काठमाडौं काठमाडौंको ठमेलस्थित कमल पोखरी हडेपर निर्माण गरिएको संरचना हो । त्यहाँ व्यापारीहरु पृथ्वी बहादुर पाण्डे र सुहृदराज घिमिरे लगायत पहुँचवाला व्यक्तिको लगानी छ । ती व्यक्तिहरुको प्रभावमा परेर विभागले यस्तो निर्णय लिएको स्रोत बताउँछ ।

त्यस्तै चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कलाई पनि होटल क्वारिन्टिनमा सुचिकरण गरिएको छ ।


होटल क्वारेन्टिनको सुचिमा मुलपानीस्थित गोकर्ण रिसोर्ट समेत छनौट भएको छ । उपप्रधानमन्त्री तथा सिसिएमसीका निवर्तनमान प्रमुख ईश्वर पोखरेलसँग जोडिएको यो रिसोर्ट यति समुहले सञ्चालन गरेको हो । पूर्व राजा विरेन्द्र परिवारको नाममा रहेको गोकर्णको जग्गा कौडीको भाउमा नेपाल ट्रष्टले यति समुहलाई बुझाएको हो । सोही जग्गामा सञ्चालित रिसोर्टसहित बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पनि सुचीमा परेको छ ।

तारे होटलालाई लुट्न छुट दिएर सानालाई शुल्क निर्धारण !


विभागले तारे होटललाई आफैले शुल्क तोकेर मनोमानी शुल्क लिन स्विकृति दिएको छ । तर, अन्यलाई भने तीन हजार शुल्क तोकिएको छ ।
पर्यटनस्तरका केही होटलले दैनिक ३ हजार रुपैयाँ लिएर बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना खुवाउनुपर्नेछ ।


व्यावसायीको चर्को विरोध !

विभागको सुचिकरणमा पर्यटन व्यावसायीहरुको चर्को विरोध छ । लामो समयदेखि पर्यटन व्यावसाय गर्दै आएका गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)का अध्यक्ष कमल सापकोटाले सार्वजनिक रुपमै विरोध गरेका छन् । ‘कस्तो अचम्म भने ठमेलमा राख्न नपाउने तर लैनचौर, लाजिम्पाट र विमानस्थल अगाडी पाउने रे । अहिले ती ताकिएको ठाउँ भन्दा ठमेल सुनसान छ । ठमेलकै दुई वटा होटल चाहीँ स्टार भएकाले दिएकोरे ती होटलको भन्दा अन्य होटलहरुको क्षेत्रफल ठूलो छ । यी सबै सेटिङका छैनन् भनेर कसरी नभन्ने ?,’ प्रश्न गर्दै उनी भन्छन्,‘पहिले पनि चार्टर फ्लाइट र होटल क्वारेन्टाइन लगायतमा सेटिङ भएको कुरा व्यापक भएकै हो ।’


क्याबिनेटको निर्णय टिप्पणी गर्न मिल्दैन : प्रवक्ता जिसी


पर्यटन विभागका निर्देशक मोहन बहादुर जिसीलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले मन्त्रिपरिषदको निर्णयमा आफूहरुले टिप्पणी गर्न नमिल्ने बताए ।


‘यसमा मैले टिप्पणी गर्न मिल्दैन । मन्त्रिपरिषदको निर्णय हो । मापदण्ड सबै सुचनामै छ,’ जिसीले दियोपोस्टसँग भने ।