काठमाडौं, २१ जेठ । प्रेस काउन्सिल नेपालको कार्याबाहक अध्यक्ष गोपाल बुढाथोकीलाई सरकारले बर्खास्त गरेको छ । बुढाथोकीलाई हटाएर सरकारले अध्यक्षमा कान्तिपुर दैनिकमा लामो समय कार्यत पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्ती दिएको छ । सरकारले बस्नेतलाई ४ वर्षका लागि नियुक्ती दिएको हो ।
पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उनी केपी ओली समुहको नेकपा एमालेबाट महासचिवमा उम्मेदवार बनेका थिए । तर, प्रतिगमन विरोधी समुहका उम्मेदवार रोशन पुरीले उनलाई पराजित गरेको हो ।
यसअघि भवानी बराललाई सरकारले काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । तर, उनको विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि किशोर श्रेष्ठले कार्याबाहक भएरै लामो समय विताएका थिए । यहीबीच सरकारले दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरेपनि सर्वोच्च अदालतले रोक लगाएको थियो । श्रेष्ठको पदावधी सकिएपछि साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई काउन्सिलको कार्याबाहक अध्यक्ष नियुक्त गरिएको थियो ।
कार्याबाहक अध्यक्ष रहेका बुढाथोकीले सरकारलाई सहयोगीभूमिका निर्वाह गरेपनि उनलाई हटाएको विषयमा विभिन्न आशंका उब्जिएको छ । यद्धपी उनले काउन्सिलमा रहँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भने खुबै चाकडी गरेका थिए । पोखरेलको विषयमा समाचार छाप्ने सञ्चारमाध्यममाथि अनावश्यक स्पष्टिकरण र जवाफ मागेर हैरान पार्ने गरेको उनीमाथि आरोप छ ।