नागरिकता अध्यादेश विरुद्धको रिटमा सुनुवाइ गर्न प्रधानन्यायाधीशले छाने वरिष्ठ न्यायाधीश

दियो पोस्ट  

काठमाडौं, २१ जेठ । सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

अध्यादेश विरुद्ध परेका ६ वटा रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेका छन् ।

खतिवडाभन्दा अघिको वरियतामा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भएपनि उनी अस्वस्थताका कारण होम आइसोलेसनमा छन् ।

रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।