काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्दैछन् । उनले आफुसँगै रहेका चार जना मन्त्री बाहेकलाई हटाउने तयारी गरेको खबरहरु आएका छन् ।
खबर अनुसार अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक योजना मन्त्री बसन्त नेम्वाङ बाहेक सबैलाई हटाउन लागिएको छ ।
ओलीले आफू नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतो–महन्त ठाकुर समुहलाई सरकारमा सामेल गराउँदैछन् । राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्ने चर्चा छ । त्यस्तै शरदसिंह भण्डारीलाई जलस्रोत तथा उर्जा मन्त्री नियुक्त गरिँदैछ । अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने जनाइएको छ । मधेशवादी पार्टीले गृहमन्त्रालय मागेपनि ओलीले दिन तयार भएनन् ।
यता यसअघि गृहमन्त्री रहेका राम बहादुर थापा बादल समुहले गृहमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ । ओलीले गृहमन्त्री दिन भने अस्विकार गरेको स्रोत बताउँछ । केहीबेरअघि बालुवाटार पुगेका पूर्व माओवादी नेता राम बहादुर थापा बादलले आफू निकटका नेतालाई गृहमन्त्री बनाउन माग गरेका थिए । तर, ओली तयार नभएपछि भाँडभैलो भएको स्रोत बताउँछ । त्यसैकारण ६ बजे गर्ने भनिएको सपथ ८ बजेलाई सरेको छ ।
यता प्रधानमन्त्री ओली समक्ष एमाले नेताहरुले गृहमन्त्री मागेर हैरान बनाएको स्रोतले जनायो । उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलले गृहमन्त्री बन्न पाउनुपर्ने माग राखेको विशेष स्रोतले जानकारी दियो । तर, ओली सरकारमा रहँदा भ्रष्टाचारको दुर्गन्धले सरकार नै बद्नाम बनाएका पोखरेललाई गृहमन्त्री दिए गृहप्रशासन नै धराशायी बनाइदिने भन्दै एमाले भित्रै विरोध छ ।