निषेधाज्ञामा जनतालाई घरमा थुनेर गजुरीका वडाध्यक्ष भिड लिएर घुमघाममा !

दियो पोस्ट  

धादिङ, २४ जेठ । कोरोना भाइरसको संक्रमणले दैनिक सयौँको संख्यामा नागरिकहरुले ज्यान गुमाइरहेका छन् । संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ ।

गृहमन्त्रालयको पछिल्लो रेकर्ड अनुसार ७५ जिल्लामा यतिबेला निषेधाज्ञा लागु छ । कोरोना संक्रमण फैलिएका कारण निषेधाज्ञा लागु भएको जिल्ला मध्ये धादिङ पनि एक हो । तर, धादिङका जनप्रतिनिधि भने जनतालाई घरमा थुनेर आफू भने भिड जम्मा गरेर घुमघाम गर्दै हिँडेको पाइएको छ ।


जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकुमार पण्डित भिड जम्मा पार्दै घुमघाममा हिडेका छन् । शनिबार डेढ दर्जन भन्दा बढी मान्छेको भिड लिएर उनी गजुरीकै बाँसखर्कमा भेटिएका हुन् ।

सामाजिक सञ्जालमा वडाध्यक्षसहितका व्यक्तिहरु भिडभाड बनाउँदै हिँडेको भन्दै आलोचना शुरु भएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पण्डितलाई निषेधाज्ञा उलंघन गरेको अभियोगमा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।