काठमाडौं, २४ जेठ । राजदूतमा नियुक्त भएका एक व्यक्तिको योग्यतामा प्रश्न उठेपछि सरकारले निर्देशिका नै परिवर्तन गरेको पाइएको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै गृहजिल्लाका एमाले नेता युवराज कार्कीलाई गत वैशाखमा बहराइनको राजदूत सिफारिस गरिएको थियो । तर, मन्त्रालयमा सबै राजदूतको योग्यता प्रमाण पत्र लिने क्रममा कार्कीले प्लस टु अर्थात कक्षा १२ मात्रै पास गरेको पाइएको थियो ।
उनलाई राजदूतमा निरन्तरता दिनुपर्ने प्रधानमन्त्री ओलीको दबावपछि मन्त्रिपरिषदले निर्देशिका नै परिवर्तन गरेको हो ।
गत वैशाख अन्तिम साता विभिन्न ११ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । मन्त्रिपरिषदले ‘विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने’ भन्दै निर्देशिका संशोधन गरेको हो । यसअघि सामान्य प्रशासन मन्त्री रहेका कार्की नेकपा एमालेको ओली समुहका नेता हुन् ।
यसअघि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा पारित भएको थियो । उक्त निर्देशिकामा राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।
राजदूतका लागि कूटनीतिक–राजनीतिक नियुक्तिमा ५०÷५० प्रतिशत अनुपातको हिसाबमा सिफारिस गरिने प्रबन्ध रहँदै आएकामा गत वैशाख २५ गतेको मन्त्रिपरिषद्ले गरेको संशोधन निर्णयमा यसमा पनि ‘मौनता’ दर्शाइएको छ । गत महिना सिफारिस गरिएका ११ राजदूतमा ९ जना राजनीतिक कोटामा परेका छन् ।
संसद विघटन गरि संसदीय सुनुवाई समेत छल्ने प्रपञ्च रच्दै सरकारले आफ्ना आसेपासेलाई राजदूत नियुक्त गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।