धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण, स्वस्थ र समृद्ध राष्ट्रको आधार

दियो पोस्ट  


डा. राम थापा क्षेत्री

हरेक वर्षको  मे ३१ लाई  ‘विश्व धूम्रपान रहित  दिवस’ ( World No Tobacco Day) रुपमा मनाउने गरिन्छ ।  विश्व स्वास्थ्य संगठनको  पहलमा  सन् १९८७ देखि सुरु भएको धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि मनाइने यस दिवस “छोड्नको लागि प्रतिबद्ध” ( Commit To Quit) भन्ने नाराका साथ यो वर्ष मनाइदै छ । सुर्तीजन्य पदार्थको सेवनकर्तालाई यसको प्रयोगबाट हुने असरहरु बारे अवगत गराई  स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष यो दिवसमा विभिन्न जनचेतनामुलुक कार्यक्रमहरु गरी मनाउने गरिन्छ ।
धूम्रपान (Tobacco Smoking) संसारभरी सबैभन्दा बढी प्रयोग हुने सूर्तिजन्य पदार्थ हो।  सूर्तिजन्य पदार्थ सेवनका माध्यमहरुमा चुरोट, सिगार, सूर्ति, खैनी, बिँडी आदि पर्दछन् ।


विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । त्यस मध्ये करिब १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका (Second Hand Smoke) कारणले मृत्यु हुने गरेको पाइन्छ । सबै खालका सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि हानिकारक छ ।
सुर्तीजन्य पदार्थ सेवन नगर्नेहरु भन्दा सुर्ती सेवनकर्ताहरुलाई  फोक्सो सम्बन्धि क्यान्सर हुने सम्भावना २२ गुणा बढी  रहेको छ । फोक्सो सम्बन्धि क्यान्सर (Lung Cancer) को प्रमुख कारण नै धूम्रपान र सुर्ती सेवन हो । किशोर तथा युवा अवस्थामा नै धूम्रपान सुरु गरेका प्रत्येक ५ जना व्यक्तिहरु मध्ये एक जनालाई श्वासप्रश्वास सम्बन्धि रोग (COPD) लाग्ने सम्भावना प्रबल रहने गर्दछ । निरन्तर धूम्रपान गर्ने व्यक्तिहरुलाई युवा अवस्था देखि  नै श्वासप्रश्वास सम्बन्धि जटिलताहरु लिएर अस्पताल पुग्ने गरेको पाइन्छ ।  


सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगहरु जस्तै  क्यान्सर (Cancer), मुटुरोग (Heart Disease), श्वासप्रश्वास सम्बन्धी रोग (Respiratory Disease), मधुमेह रोग (Diabetes) लाग्ने गरेको छ । सुर्तीजन्य पदार्थमा पाइने निकोटिनका कारण मुटुसम्बन्धि रोग लाग्ने सम्भावना उच्च हुने गर्दछ । धूम्रपानको कारण अँाखाको ज्योतिमा ह्रास आउने (Vision Loss), प्रजनन क्षमतामा कमी आउने (Infertility),  पेट सम्बन्धि समस्या हुने, कानको सुन्ने क्षमतामा कमी आउने,  पिशाब थैलीको क्यान्सर (Urinary Bladder Cancer) हुने, गर्भवती महिलाहरुमा गर्भपतन (Miscarriage) हुने, स्तन सम्बन्धि क्यान्सर (Breast Cancer) हुने, शरीरको प्रतिरक्षा प्रणाली (Immune System) मा ह्रास आउने जस्ता थुप्रै स्वास्थ्य समस्याहरु देखापर्ने गर्दछन् । 

सूर्तिजन्य पदार्थहरुमा  क्यान्सर गराउने विषादी रहेको हुन्छ ।  यसको प्रयोगले घाँटी, श्वासनली र मुखको भागहरुमा (मुख, जिब्रो, ओठ र गिजा लगायत) क्यान्सरको (Oral Cancer) जोखिम बढाउदछ । साथै सुर्तीजन्य पदार्थले  दाँतसम्बन्धी विभिन्न रोग पनि लाग्ने गर्दछ। विभिन्न अध्ययनका अनुसार सुर्तीजन्य पदार्थको सेवनले मष्तिष्कघात र हृदयघातको जोखिमलाई पनि बढाउने गरेको छ । 


सूर्तिजन्य पदार्थ उत्पादन गर्ने किसानमा पनि ग्रीन टोबाको सिकनेस (Green Tobacco Sickness)  लगायत अन्य थुप्रै स्वास्थ्य समस्याहरु देखापर्ने गर्दछ । वृद्ध उमेरमा देखिने अल्जाइमर्स जस्ता रोगहरुका लागि समेत धूम्रपान तथा सुर्ती सेवन कारक रहेको अध्ययनले देखाएको छ ।  सुर्तीजन्य पदार्थ सेवनले व्यक्तिको औसत  आयुलाई १० वर्ष कम गराउने तथ्य पनि बाहिर आएको छ ।  

नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । जुन नेपालमा कुल मृत्युको करीब १५ प्रतिशत हो । 
नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिब ४७ अर्ब क्षति हुने गरेको तथ्यांक छ ।


 पछिल्लो  तथ्याङ्क अनुसार हाल नेपालमा कुल जनसंख्याको २८.९ प्रतिशतले  सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । त्यसमध्ये ४८.३ प्रतिशत  पुरुष र ११.६ प्रतिशत महिला रहेका छन् । यसैगरी पहिलोपटक धुम्रपान शुरु गर्दाको औसत उमेर १७.८ वर्ष  रहेको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ । कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन ।  यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिसेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने नि:शुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।


यसैगरी १८ बर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । साथै, सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले गरेकाे छ ।


विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुका अनुसार  सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड १९ सङ्क्रमणको उच्च जोखिममा रहेको जनाएको छ । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र हाल विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरस सङ्क्रमणले पनि फोक्सोमा बढी असर गर्ने भएकाले सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु उच्च  जोखिममा  रहेका छन् । 


सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र कोभिड सङ्क्रमणले फोक्सोमा न्युमोनिया गराई श्वासप्रश्वास प्रणालीमा अवरोध पुर्याइ बिरामीको मृत्यु समेत गराउने हुँदा धूम्रपान सेवन खतरापूर्ण रहेको पाइन्छ । कोभिड सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले धूम्रपान तथा सुर्ती सेवन अविलम्ब त्याग गर्नु नै बुद्धिमानी हुनेछ ।

विश्वभर १.३ अर्ब सूर्तिजन्य पदार्थ सेवन गर्नेहरूमध्ये ८० प्रतिशत भन्दा बढी कम तथा मध्यम आय भएका मुलुकहरूमा बसोबास गर्ने गर्छन् । जहाँ सूर्तिजन्य पदार्थ सम्बन्धित रोग लागेर मृत्यु हुने दर  उच्च रहेको पाइन्छ ।
सुर्तिजन्य पदार्थको प्रयोगले आर्थिक भार पर्न गई विपन्नता तर्फ धकेल्दछ । पारिवारिक खर्च सुर्तीजन्य पदार्थको खरिदमा पर्न गई  आधारभूत आवश्यकताहरुको परिपुर्तिमा कठिनाइ देखापर्ने गरेको गर्छ । तसर्थ सुर्तीजन्य पदार्थको सेवनले गरिबीलाई थप टेवा पुर्याउदछ ।


विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदन अनुसार हाल कोभिड-१९ महामारीले गर्दा सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुले स्वास्थ्य जटिलता आउन सक्ने भन्दै  यो लतबाट छोड्नेको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।  

धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनकर्ताहरुको  त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने गर्दछ । यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउने गर्दछ । धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुले यो लत छोडेको  १० वर्ष भित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्ष भित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना समेत घट्छ ।


विश्व सूर्तिजन्य पदार्थ विरुद्धको दिवस २०२१ को उपलक्ष्यमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियान सुरु गरेको छ। “छोड्नको लागि प्रतिबद्ध” भन्ने नाराका साथ यो अभियान सञ्चालन गरेको छ । यस अभियानको लक्ष्य विभिन्न पहल तथा डिजिटल उपकरणको माध्यमबाट एक करोड मानिसहरूलाई सूर्तिजन्य पदार्थको प्रयोग छोड्न मद्दत गर्नु रहेको छ ।    


विश्व स्वास्थ्य संगठनले  सुर्तीजन्य पदार्थ नियन्त्रणका विभिन्न अभियानहरु सञ्चालन गर्दैछ ।  अभियानले सर्वसाधारण जनतालाई सूर्तिजन्य पदार्थको प्रयोगमा निरुत्साहित गर्न वकालत गर्दै सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको  रणनैतिक योजना निर्माण एवं सूर्तिजन्य पदार्थको प्रकोप  विरुद्ध लड्न जागरण अभियान संचालन गर्ने घोषणा गरेको छ । फलस्वरूप विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य तथा भावी पुस्ताको स्वास्थ्य सुरक्षाको लागि के कस्ता उपायहरु अबलम्बन गर्न सक्दछन्  भन्ने बारे पनि जानकारी प्राप्त गर्नेछन् ।  तसर्थ यो अभियान सूर्तिजन्य पदार्थको  प्रयोगलाई निरुत्साहित गर्न कोशेढुंगा साबित हुनेछ।


नेपाल सरकारले  सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सुर्तिजन्य पदार्थमा लाग्दै आएको करको दायरालाई वृद्धि गरेमा उत्पादन र प्रयोगमा कमी आउन सक्दछ । राज्यले सुर्ति तथा चुरोट उद्योगमा गरिएको लगानीलाई निरुत्साहित गरी सो लगानीलाई अन्य क्षेत्रमा आकर्षित गर्न उद्योगी व्यवसायीहरुलाई  प्रोत्साहित गर्नुपर्दछ ।


सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका ऐन नियमको कडाइका साथ कार्यान्वयन गर्न सरकारी निकायहरु बीच समन्वय गरी अनुगमन र नियन्त्रणलाई चुस्त बनाउनुपर्दछ  ।सुर्तीजन्य पदार्थमा रहेको विषाक्त तत्वका कारण   मानव स्वास्थ्य सँगै वातावरणिय स्वास्थ्यमा पनि गम्भीर असर पुर्याउने गर्दछ ।  सुर्ति उद्योगहरुलाई क्रमिक रुपमा विस्थापित गर्दै त्यस क्षेत्रमा रहेको लगानीलाई कृषि, उर्जा, पर्यटन जस्ता क्षेत्रहरुमा सदुपयोग गर्ने नीति राज्यले लिनुपर्दछ । त्यस्ता लगानीलाई विभिन्न सहुलियत मार्फत प्रोत्साहित गर्नुपर्दछ ।


 किसानहरुलाई पनि सुर्तीजन्य पदार्थमा नभई कृषिका अन्य क्षेत्रहरुमा आफ्नो उत्पादन बढाउन जोड दिनुपर्दछ । जसका लागि राज्यले कृषि अनुदान,सहुलियत ऋण, कर छुट, मलको सहज उपलब्धता,  कृषिजन्य सामाग्री वितरण जस्ता कार्यक्रम मार्फत कृषकहरुलाई आकर्षित गर्नुपर्दछ ।

सुर्तीजन्य पदार्थको खुल्ला वितरणमा रोक लगाई निश्चित स्थानमा मात्र खरिद बिक्री गर्ने व्यवस्था गर्नुपर्दछ । बालबालिका तथा किशोरकिशोरीहरुलाई सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउनुपर्दछ । अभिभावकहरुले पनि आफ्ना सन्तानलाई सुर्तीजन्य पदार्थ खरिद गर्न पठाउने जस्ता कार्यहरुमा समावेश गराउनु हुँदैन ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई धूम्रपान गर्ने साथी संगतबाट टाढा राख्न अभिभावकले विशेष पहल गर्नुपर्दछ ।   चलचित्र तथा व्यवसायिक विज्ञापनहरुमा पनि  धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगलाई रोक लगाउनुपर्दछ । 


सार्वजनिक स्थानहरुमा धूम्रपान गर्नेहरुलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्दछ । विभिन्न खुला स्थानहरुमा किशोर किशोरीहरुले गर्ने सामुहिक सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्दै कडा अनुगमनलाई निरन्तरता दिनुपर्दछ । 

विद्यालय शिक्षामा सुर्तीजन्य पदार्थको असरबारे समावेश गरिएको पाठ्यसामग्रीको सदुपयोग गरी विद्यार्थीहरु मार्फत आफ्नो परिवारमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्ने खालका अभियानहरु सञ्चालन गर्नुपर्दछ ।


सुर्तिजन्य पदार्थ प्रयोग विरुद्ध जारी भएका ऐन नियमको कार्यान्वयन गर्नेतर्फ राज्यका सबै निकायहरुको प्रभावकारी समन्वय स्थापित गर्नुपर्दछ ।  
 चुरोट, सुर्ती सेवन गर्नेहरुमा कोभिड संक्रमण भएमा थप स्वास्थ्य जटिलता देखापर्ने  हुँदा सन्देशमुलक सूचनाहरु आमसञ्चार माध्यमहरुमार्फत प्रवाह गरी जनचेतनामुलुक  कार्यक्रमहरुमा केन्द्रित हुनुपर्दछ ।  सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगलाई न्यूनीकरण गर्न  आमसञ्चार माध्यमहरुले बहस र पैरवी मार्फत  निरन्तर खवरदारी गरिरहनु पर्दछ ।


सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्याउने हुँदा ढिलो नगरी यो लतबाट टाढा रही स्वस्थ र गुणस्तरीय जीवनयापन गर्नु नै फलदायी हुन्छ ।

 विद्यमान ऐन नियमको पुर्ण कार्यान्वयन गरी सुर्तीजन्य पदार्थको उत्पादन र प्रयोगलाई निरुत्साहित गर्दै स्वस्थ जीवनशैली अवलम्बन गर्न हामी सबैको साझा प्रयास आवश्यक छ । 

स्वस्थ र सक्षम  जनशक्ति नै राष्ट्र निर्माणको आधार भएकोले धूम्रपान र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न नेपाल सरकार, आमनागरिक,  प्रेस जगत तथा सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्य अपरिहार्य छ ।