जात थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार : काठमाडौंमा सञ्चारकर्मी नै पीडित !

जात थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार : काठमाडौंमा सञ्चारकर्मी नै पीडित !

काठमाडौं, ३ जेठ । राजधानी काठमाडौंमा फेरी जातिय विभेदको अर्को घटना सार्वजनिक भएको छ । ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्विकार गरेकी हुन् ।


ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ । तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेको पाइएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ की घरबेटी सरस्वती प्रधानले कोठा भाडामा दिने मञ्जुर भइसकेपछि अन्तिममा दलित भन्ने थाहा पाएपछि भाडामा दिन अस्विकार गरेकी हुन् ।


घटना सार्वजनिक भएपछि जात व्यवस्था उन्मुलन मोर्चा नेपालले विभेदमा समलग्न प्रधानमाथि कारबाहीको माग गरेको छ । मोर्चाका संयोजक महाविर विश्वकर्माद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ,‘एक सचेत र समाज परिवर्तनको लडाईंमा राजनीतिक रुपमै संगठित भएर अघि बढिरहेको व्यक्तिमाथि देशको राजधानीमै यो तहको घटना हुनुले हाम्रो समाजमा जात व्यवस्था कति जकडिएर बसेको रहेछ भन्ने फेरी एक पटक उदाङ्गो भएको छ ।’


सञ्चारकर्मी रुपा जात व्यवस्था उन्मुलन मोर्चा वागमती गण्डक सम्पर्क मोर्चाकी संयोजक समेत हुन् ।

Trending News