
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध पत्रकार महासंघको निर्वाचनमा मोर्चाबन्दी नै भएको थियो । हाल अध्यक्षमा निर्वाचित विपुल पोखरेल ‘प्रतिगमन विरोधी’ मोर्चाको तर्फबाट महासंघको नेतृत्वमा आएका व्यक्ति हुन् । तर, उनै अध्यक्ष पोखरेलमाथि ‘ओलीपथ’को नक्कल गरेको आरोप लागेको छ ।
नेपाल पत्रकार महासंघको बेलायत शाखामा फर्जी पद श्रृजना गरि विधी र विधानलाई लत्याएर नयाँ नेतृत्व चयन गरेको आरोप उनीमाथि लागेको छ ।
यहि जेठ ३१ गते महासंघको बेलायत शाखा अध्यक्षमा ध्रुवराज अर्याल निर्वाचित भएका थिए । लन्डनमा सम्पन्न भनिएको पाँचौँ अधिवेशनबाट अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । बेलायत शाखाले विधान विपरिच पदहरु सिर्जना गरेर कार्यासमितिको चुनाव गराउन लागेको भन्दै उजुरी मात्रै परेको होइन अध्यक्ष पोखरेल र महासचिव रोशन पुरी समक्ष पटक पटक यस्ता कार्य रोक्न आग्रह गर्दा पनि जबरजस्ती नेतृत्व चयन गरेको भन्दै चर्को विरोध भएको छ ।
उपाध्यक्ष बाला अधिकारीले महासंघको फेसबुक पेजमै विरोध जनाएकी छिन् ।
‘प्रधानमन्त्री केपी ओलीले संविधान विपरित गएर निर्णय गर्दा त्यसको विरुद्ध नागरिक संस्थाको हैसियतमा खरो प्रतिवादमा उत्रने नेपाल पत्रकार महासंघ र यसको नेतृत्व आफै पनि आफ्नो संस्थाको विधान अनुरुप चल्नुपर्छ की पर्दैन, ?’ बालाले प्रश्न गरेकी छिन्,‘अध्यक्ष ज्यु अझै पनि यो अवैध कामलाई खारेज गरिएन भने लोकतन्त्र र विधी विधानको कुरा गर्न हाम्रो ओठे प्रतिवद्धताको केही अर्थ छैन । संविधानलाई लत्याएर हिँड्ने केपी ओली पथमा हिँड्ने काम नगर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
विधि र विधान अनुसार महासंघ नचले आफूले राजिनामा दिने समेत उनको चेतावनी छ ।
‘पार्टीका भातृ संगठन जस्तै महासंघ पनि विधान त चल्दैन भने महासंघमा बसिरहनुको औचित्य देखिन । त्यसैले अब म चाहीँ महासंघबाट विदावरी हुने मानसिकतामा पुगेकी छु,’ बालाले पत्रकार महासंघको फेसबुक ग्रुपमा भनेकी छिन्,‘महासंघमा भनेको हामी पदाधिकारी भएपनि कार्यकारी पद नभएकाले गुमराहमा पारिँदो रहेछ । हाम्रो भनाई पनि विक्दो रहेनछ ।’