दियोपोस्ट संवाददाता
गोरखा, ७ असार । औषधी विज्ञहरुका अनुसार म्याद गुज्रेको औषधी सेवन गर्दा मानव स्वास्थ्यमा गम्भिर असर गर्छ । ‘म्याद अघिको औषधीले इलाज गर्छ तर म्याद सकिएपछि त्यही औषधी विषादीमा परिणत हुन्छ’ भन्ने कथन छ ।
त्यसैले औषधीमा स्पष्ट लेभलिङ गर्नुपर्ने हुन्छ । म्याद गुज्रेको औषधी बेचविखन गर्नेमाथि औषधी व्यवस्था विभागले कारबाही समेत गर्ने गरेको छ ।
तर गोरखामा जनताको प्रतिनिधि हुँ भन्ने एक सांसदले म्याद गुज्रेको औषधी वितरण गरेको पाइएको छ । नेपाली कांग्रेसका प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले कोरोना राहतको नाममा म्याद गुज्रेको औषधी दिएर जनताको जीवनमाथि खेलवाड गरेको खुलाशा भएको हो ।
गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोक स्वास्थ्य चौकी र स्वारा स्वास्थ्य चौकीलाई सांसद दवाडीले म्याद गुज्रेका औषधि वितरण गरेको पाइएको हो । गत जेष्ठ २४ गते सोमबार सांसद दवाडीले स्थानिय स्वास्थ्य चौकीमा कवाडी औषधी वितरण गरेका हुन् ।
दवाडी गोरखा क्षेत्र–२ ‘ख’ बाट नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् ।
वीरगन्जमा उद्योग स्थापना गरेर काठमाडौंको कमलपोखरीमा कार्यालय रहेको नेश्नल हेल्थ केयर प्रा.लीद्वारा उत्पादित ‘मेट्रोनिड डिएफ’ लगायत औषधीहरु म्याद सकिएको अवस्थामा भेटिएको हो । मेट्रोनिड बालबालीकालाई पखाला चलेको बेला खुवाइने औषधी हो । जनतालाई वितरण गरिएका यो औषधीहरु मे २०१९ मा उत्पादन भएको देखिन्छ भने गत अप्रिलमा म्याद सकिएका थिए । तर, म्याद सकिएको २ महिनापछि सांसद दवाडीले सेवाको नाममा जनतालाई वितरण गरेर नागरिकको जीवनमाथि नै खेलबाड गरेका हुन् ।
त्यस्तै बालबालीकालाई खोकी लाग्दा खुवाइने टस्सिभ–डी नामक औषधीको उत्पादन मिति मार्च २०१९ रहेको छ भने म्याद सकिने मिति २०२१ फेब्रुअरीसम्म छ । तर, सांसद दवाडीले म्याद सकिएको चार महिनापछि अर्थात जुन महिनामा यस्ता औषधी सेवाको नाममा गोरखामा वितरण गरेका छन् । औषधीहरु मानव शरिरको रगतमा बग्ने हुनाले म्याद गुज्रिएको औषधीहरु रगतमा पुग्दा बालबालीकाको ब्लड क्यान्सर हुने खतरा हुन्छ ।
मानव स्वास्थ्यमा गम्भिर असर पर्ने औषधीहरु स्वास्थ्य चौकी मार्फत जनतालाई खुलम खुल्ला वितरण गरिएपनि गाउँपालिका अध्यक्ष भने आफूलाई केही थाहा नभएको बताउँछन् । नेपाल सरकारले स्वास्थ्य सामग्री लगायत जति पनि सहयोग राहत वितरण गर्दा स्थानिय निकाय मार्फत एकद्वारा प्रणालीमा आधारित रहेर वितरण गर्नुपर्ने मापदण्ड बनाएको छ ।
‘हामीलाई थाहा नै थिएन । हामीसँग समन्वय पनि गर्नुभएन । उहाँले जनतालाई बाँढेको होइन स्वास्थ्य चौकीलाई बाढेको हो,’ बारपाक सुलिकोट गाउँपालिका गोरखाका अध्यक्ष विष्णु प्रसाद भट्टले भने,‘हामीलाई थाहा नै दिइएन ।’
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले सांसद दवाडीले वितरण गरेको औषधी म्याद सकिएको फेला परेको बताए । ‘म्याद सकिएको भेटियो । त्यसपछि हामीले विषर्जनको प्रक्रियामा लगेका छौँ । मैले कसैले पनि त्यस्ता औषधी दिएका छन् भने गुणस्तर र म्याद हेर्नु भनेको छु,’ भट्टले भने,‘एकद्वार प्रणालीबाट यस्ता सामग्री वितरण भए सहज हुने थियो ।’
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका कार्याबाहक जनस्वास्थ्य अधिकृत नरजंग ठकुरीले म्याद सकिएको औषधी वितरणका लागि आफूहरुसँग पनि समन्वय नभएको बताए । यद्धपी गाउँपालिका स्वास्थ्य शाखासँग भने समन्वय भएको हुनुपर्ने उनको भनाई छ ।
कसैले पनि डेट एक्सपाएर औषधी खाएको होइन : सिडिओ पौड्याल
प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौड्यालले भने सांसद दवाडीको संरक्षणमा अभिव्यक्ति दिएका छन् । शुरुमा आफुलाई त्यस्तो विषय नोटिसमा नआएको बताएका उनले सांसद दवाडीको नाम लिने वित्तिकै उहाँले त्यस्तो नगरेको दाबी गरे । ‘होइन होइन य… त्यो चाहीँ यस्तो हो । मैले बुझे अनुसार उहाँले पालिका र स्वास्थ्य चौकीलाई सामान दिनु भो । उहाँले आफै त्यो सामान कलेक्सन गरेर ल्याउने क्रममा केही सामान डेट एक्सपाएर परेछ । त्यो सामान छुट्याउनुस् यो सामान वितरण नगर्नुहोला भनेकै देखिन्छ भिडियोमा,’ शर्माले दियोपोस्टसँग भने,‘त्यहाँबाट कसैको हातमा पर्यो होला । सामाजिक सञ्जालमा आएको होला । तर, त्यस्तो होइन । तर, कसैले पनि डेट एक्सपायर औषधी खाएको अवस्था होइन ।’
उनले एकद्वार प्रणालीबाट मात्रै यस्ता सामग्री वितरण हुने व्यवस्था मिलाएको दाबी समेत गरे । तर, सांसद दवाडीले मनोमानी रुपमा म्याद सकिएको औषधी गाउँपालिकालाई समेत थाहा नदिएरै जनताकै हातहातमा वितरण गरेको प्रमाणित भइसकेपछि सिडिओको दाबी हावादारी सावित भएको छ ।
सांसद दवाडीले स्वास्थ्य चौकीलाई मात्रै औषधी वितरण गरेको सिडिओको दाबी रहेपनि भिडियोमा भने दवाडीले ‘रुघा खोकी लाग्यो भने यो खाँदा हुन्छ है’ भन्दै म्याद सकिएको औषधी जनतालाई प्रत्यक्ष वितरण गरेका छन् ।
यता सांसद दवाडीले स्वास्थ्य चौकीमा वितरण गरिएको केही औषधी म्याद सकिएको भेटिएको स्विकार गरेका छन् । गत जेठ २५ गते नै उनले विज्ञप्ति सार्वजनिक गर्दै केही औषधी म्याद सकिएको विषयमा पछि जानकारी भएको स्विकार गरेका छन् ।
दियोपोस्टले दवाडीलाई सम्पर्क गर्दा उनले शुरुमा आफूले स्वास्थ्य चौकीलाई औषधी वितरण गरेको र कुनै पनि जनतालाई नदिएको बताए । तर, दियोपोस्टले,‘भिडियोमा त तपाईंले जनतालाई खोकीको औषधी भन्दै दिनु भएको छ नी ?’ भन्ने प्रश्न गरेपछि उनले भने,‘त्यो स्वास्थ्य चौकीकै मान्छे हो । त्यो बुझ्दा हुन्छ है म मिटिङमा छु । अहिले राखेँ ।’