धादिङ, ७ असार । नीलकण्ठ नगरसभा अगाडी शान्तिपूर्ण धर्नामा बसेका दलित समुदायमाथि प्रहरीले निर्मम धरपकड गरेको छ ।
प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको नेतृत्वको टोलीले आन्दोलनरत दलित समुदायमाथि धरपकड गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट दलित अगुवा राम बहादुर बसेलसहित एक दर्जन व्यक्ति घाइते भएका छन् । गम्भिर घाइते बसेललाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ ।
नीलकण्ठ नगरपालिकाले संविधान विपरित दलित समुदायको छात्रवृत्ति कटौती गरेको भन्दै धादिङका दलित अगुवा आन्दोलनमा उत्रिएका छन् ।
आज आयोजित नगरसभा अघि नै शान्तिपुर्ण धर्नामा बसेका दलितमाथि मेयर भिम प्रसाद ढुंगानाको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको आरोप छ । संयुक्त दलित संघर्ष समितिले १२ बुँदे माग पुरा गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ ।