एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना : रमेश सिलवाल र लोकबहादुर भण्डारी समलग्न

दियो पोस्ट  

काठमाडौं, ९ असार । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक नगर्दै केही ठूला शैक्षिक व्यापारीद्वारा सञ्चालित निजी कलेजले कक्षा ११ को भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिँदै ती विद्यालयहरुले भर्ना अभियान थालेका हुन् ।

भर्ना अभियान थाल्नेमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव तथा हिसानका अध्यक्ष रमेश सिलवालकोब स्वामित्व रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजसहित केही कलेज रहेका छन् ।

गोल्डेनगेटले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ ।


त्यस्तै नेपाल स्काउटको संयोजक समेत रहेका हिसानका महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलेको छ । उनले स्काउटको लाखौँ बजेट प्रधानमन्त्री केपी ओलीका गुणगान र विज्ञापनमा खर्च गरेर चरम भ्रष्टाचार गर्दै आएका छन् ।

भण्डारी लगायत सरकार निकट शैक्षिक व्यापारीले भर्ना अभियान थालेपछि काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्ना आह्वान गरेका छन् । नेसनल स्कुल अफ साइन्स (निष्ट), साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सार्वजनिक सूचना नै जारी गरेका छन् ।

उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन् । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरूले बताएका छन् ।


उनीहरुले जथाभावी शुल्क असुली गरेपनि शिक्षा मन्त्रालय बेखबर जस्तै बनेको छ ।