दियोपोस्ट संवाददाता
धादिङ १३ असार । धादिङवेशी तिप्लिङ सडकखण्ड अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिका जोड्ने पक्की पुल सामान्य बाढीले समेत क्षेतिग्रस्त बनेको छ ।
शनिबार आएको लपाङ खोलाको सामान्य बाढीले पुलको आधा भाग नै बगाएको स्थानियबासीले बताए । स्थानियबासीका अनुसार उक्त पुल तीन महिना अघि मात्रै निर्माण सम्पन्न भएको हो । कुल ४ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल सामान्य भाल बाढीले नै भत्काऐपछि निर्माणमा चरम लापरबाही र भ्रष्टाचार भएको आरोप स्थानियबासीको छ ।
‘पुलको ४० प्रतिशत भाग बगाएको छ । चर्किएको छ । हामीले निर्माणकै क्रममा पटक पटक ध्यानार्षण पनि गराएका थियौँ । तर ठेकेदारले हाम्रो कुरा सुनेनन्,’ एक स्थानियबासीले भने,‘यो पुल निर्माणमा चरम अनियमितता भएको छ ।’
स्थानियका अनुसार उक्त पुल जय विष्णु निर्माण सेवा नाम ठेकेदार कम्पनिले निर्माण गरेको हो । जय विष्णु निर्माण सेवाका प्रबन्ध निर्देशक अनिल सिलवाल भने निर्माणमा कुनै कमजोरी नभएको बताउँछन् । ‘तलको झोलुंगे पुलसम्म जाने गरि भेल आएको रहेछ । त्यहाँ खासगरि चाहिने ७२ मिटरको पुल हो । पहिरोका कारण ४५ मिटरको बक्स जोडेर हालेको हो । मैले आरसिसि राखौँ भन्दा राख्नुभएन । खोला यति ठूलो आएछकी जीवनमा अहिलेसम्म त्यो खोलाले दाहिनेपट्टिको धारमा पुगेकै थिएन,’ उनले भने,‘खोला बढेको भिडियो पनि मसँग छ ।’
उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनामा यो पुल निर्माण भएको हो ।