धुनिबेशीका जनतामाथि युनाइटेड सिमेन्टको ज्यादती : उद्योगको धुँवा र धुलोले स्थानियको उठीबास !

दियो पोस्ट  

 

विवेक अर्याल
धादिङ । धादिङको धुनिबेसी नगरपालिका – ९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता भएको छ ।

सनराइज बैंकका अध्यक्ष तथा केएल दुगर समुहका अध्यक्ष मोतिलाल दुगरको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ धुलो र ध्वनिका कारण स्थानिय आजित बनेका छन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानियहरुलाई बसाँई सर्नुपर्ने बाध्यता भएको स्थानिय बताउँछन् ।

उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नाका लागी स्थानियले पटक पटक विरोध, सुझाव र ज्ञापन पत्र बुझाँउदै आएपनि उद्योग सञ्चालकहरुले स्थानियबासीले बेवास्ता गरेका छन् ।

 

उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसंगै उद्योग सञ्चालन गर्दा ठूलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछी अहिले धुनिबेसी नगरपालिका ९ जुगेडीबासीले हैरानी खेप्न बाध्य छन् ।

धुनिबेसी नगरपालिका ९ जुगेडी घर भएकी स्थानिय रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमासमेत असर गरेको बताइन् । उद्योग सञ्चालनमा आएपछि उद्योग आसपासका मात्र नभएर उद्योगदेखी केहि टाढाका मानवबस्तीमा समेत त्यसको असर परेको उनले बताइन् । उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भैरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उनी बताँउछिन् । “मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपेपनी फल्दैन, फलेपनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाँउ कृषि क्षेत्र हो, फलफुल फल्ने ठाउँ पनि हो, त्यहि फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौं । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफुलहरु फलल लाग्दैगर्दा झरेर जान्छन् केहि पनि फल्दैन ।”

अहिले उनीहरुले समुहगत रुपमै सिमेन्ट उद्योगको ज्यादती विरुद्ध दबाव दिने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको उनले बताईन् ।

जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४ सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुँवा निकाल्ने हुँदा आफुहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार ध्वनी र धुँवा धुलो नियन्त्रण गर्न भनेका छौं, तर उद्योगीेले त्यसको बेवास्ता गर्दै आएका छन्, उनले भने,‘सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषि बालीमा पनि उस्तै असर परेको छ ।”

उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दावी गरेको छ । रातीमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनी आँउने गरेको उद्योगका प्रतिनिधी अशोक आचार्यले बताए । यद्धपी औपचारिक रुपमा भने आफुले बोल्न नमिल्ने आचार्यले बताए । अनौपचारिक रुपमा कुरा गर्दा भने उनले उद्योगको बचाउ गर्दै रातीमा उद्योग सञ्चालन गर्दा अलि बढी ध्वनी आँउनु स्वभाविक नै रहेको बताए । “उद्योगमा बिद्युत जाने र आउने हुँदा उद्योगको अन्डरग्राउण्डमा जम्मा भएको धुलो र मेसिनबाट आउने धुँवा एकैसाथ बाहिर निस्कने गरेको हो । त्यो धेरैबेर रहँदैन र त्यसले खासै असर गरेजस्तो लाग्दैन,’उनले भने ।

उद्योग स्थापनाको समयमा स्थानियसंग उद्योगका प्रतिनिधीहरुले स्थानियलाई रोजगारी दिने, स्थानियले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगलेसमेत प्रयोग गर्ने, स्थानियलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता पनि अहिले उद्योगले भने उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।

सम्बन्धित खबर