जनयुद्धकी घाइते भन्छिन्,‘विप्लव हाम्रो काँधलाई सिँढी बनाएर केपी ओलीको टाङमुनी छिरे’

- फूलमती  

 

 

जनयुद्धमा होमिएका छापामारहरुको अनुभूति लेख्ने धोको थियो । जनयुद्धमा होमिएका र घाइतेहरुको स्थिति कस्तो होला ?

हिजो बन्दुक र गोलीसँग लुकामारी खेल्ने छापामारहरु आज शहरमा के गरिरहेका छन् ? यस्तै प्रश्नको उत्तर खोज्दै साथी प्रविण र म विहान ५ बजे ललितपुरको पुल्चोकदेखि साँखु तर्फ लाग्यौँ । करिब ४५ मिनेट मोटरसाइकलको यात्रापछि हामी साँखु त पुग्यौँ तर, हामीले खोजेको छापामार कहाँ छिन् भन्ने लोकेशन थाहा थिएन । हामी साँखुस्थित प्रहरी प्रभागमा पुग्यौँ ।

केही क्षण अल्मलियौं । मैले ती छापामार युवतीलाई फोन गरेँ । उनी प्रहरी कार्यालय अगाडी नै हाम्रो प्रतिक्षामा बसेकी रहेछिन् ।

पातलो शरीर ।

दाइने हातमा खतहरु थिए । सायद गोलीका छर्राहरुले दिलाएका दागहरु होलान् ।

साथी प्रविण संगै म बाइकमा थिएँ ।

झरें ।

मलाई उनको नागरिकताको नाम त थाहा थिएन । तर, पार्टीले राखिदिएको भूमिगत नाम भने थाहा थियो ।
‘कमरेड विरता’ मैले हात मिलाउँदै भनेँ ।

 

उनलाई ‘कमरेड विरता’ सुन्ने बितिक्कै छुट्टै अनुभूति हुँदो रहेछ ।

केही औपचारिक र अनौपचारिक कुराकानीकै क्रममा हामी विरता भाडामा बसिरहेको घरसम्म पुग्यौँ ।
टिनले छाएको सानो घर । छेउमै करेसाबारी ।

विरताका जीवनसाथी नवराज ढकाल र उनकी छोरी लिजा बाहिर पिँढीमा थिए । विरता भित्र थिइन् । विरता र उनका जीवनसाथी काम पनि गर्दै थिए । हामीले काम सकेर मात्रै कुराकानी गर्ने योजना बनायौं । खाना बनाउने, छोरीलाई तयार गर्ने देखि लिएर घरका सबै कामहरु विरता र उनका सहयात्री मिलेर गरिरहेका थिए । महिलाले नै घरको काम गर्नुपर्छ भन्ने सोचबाट नउठेको हाम्रो समाजमा यस्तो व्यवहार देखेपछि मलाई अनौठो नलाग्ने कुरै भएन ।

सबै कामहरु सकियो । खाना पनि पाक्यो । खाना खाएपछि विरताका ‘सहयात्री’ले भाँडा माझे र विरता छोरी लिजालाई पुर्याउन विद्यालय पुगिन् । साथी प्रविण पनि आफ्नो जरुरी कामले फर्किए ।
म विरताको प्रतिक्षामा थिएँ । केही क्षणपछि उनी आइपुगिन् । अनि शुरुभयो कमरेड विरताको ‘गाथा’ ।

 

 

म शिव खड्का सोलुखुम्बुमा जन्मिएँ । घरको पाचौँ सन्तान थिएँ ।

 

मध्यम वर्गिय परिवारमा मेरो जन्म भएको हो । आमा बाबा संगै खेतीपाती गर्ने, विद्यालय जाने, बाहिरी पुस्तकहरु पढने यसरी नै बाल्यकाल बित्यो । मलाई अध्ययनमा निकै रुचि थियो । मैलै एसएलसी दिएपछि मेरो हातमा आमा पुस्तक आइपुग्यो । मैले आमा पुस्तक पढ्दै गर्दा मैले समाज, किसान र महिलाको स्थिति बारेमा बुझ्न थालें । मैले निकै फरक किसिमको पुस्तक हातमा आइपुगेको अनुभव गरेकी थिएँ । आमा पुस्तक हातमा आउनु र जनयुद्धको समय कस्तो परिस्थिति मिल्न पुगेको होला । तत्कालिन माओवादीले बोकेका मुद्धाहरु सही लाग्यो । संघर्ष गर्दै परिवर्तनको लागि लड्ने हो भने संगठित हुनुपर्छ । यो त विज्ञानको नियम हो । त्यसैले म संगठित भएँ ।
मलाई समाजको लागि लड्नुपर्छ भन्ने लाग्यो । मैले महिला, दलित, जनजातिहरुको स्थिति बुझ्न थालें । चरम गतिमा बढीरहेको महिला माथिको शोषण, रुढीवादी परम्परा, जातिय विभेदका विरुद्ध लड्न जरुरी थियो । त्यसपछि सर्टीफिकेट च्यातेर भुमिगत हुदाँ १६ वर्षको उमेरमा बन्दुक भिरेर युद्धमा होमिएँ । जनयुद्धको बेलामा मेरो नाम कमरेड विरता राखियो । मलाई सबैले कमरेड विरता भनेर नै चिन्नुहुन्छ ।

माओवादी जनयुद्ध ताका महिलाको विषयमा उठाएका मागहरु राम्रो थिए । पुरा कति भए–भएनन् त्यो आफ्नो ठाँउमा छ । २०५२ अगाडि महिलाहरु कुनैपनि निजामति क्षेत्रमा थिएनन्, सैन्य क्षेत्रमा महिला थिएनन्, मुख्यतः महिला मान्छे हो भन्ने कुरा नै स्विकारेका थिएनन् । पैतृक सम्पतिमा महिलाको अधिकार, समानताको विषय जनयुद्धकै उपलब्धी हो । महिलाको हकमा यी विषयहरुलाई नै सम्बोधन गरिएको थियो । महिलाहरु शारीरिक, मानसिक हिसाबले कमजोर सोच्ने मान्यतालाई पनि भत्काउन यसले सहयोग पुग्यो ।

रोजाले भन्नुभएको छ,“महिलाहरु चुलो चौको गर्ने, कोक्रो हल्लाउन मात्रै जन्मेका होइनन्, कोक्रा हल्लाउने हातले संसार हल्लाउन सक्छन् । बम बारुदहरु बोकेर युद्ध मोर्चाको नेतृत्व गर्न सक्छन ।”
त्यसैले महिलाहरुको त्यतिबेला उठाएका मुद्धाहरु सही थियो ।

 

समाज परिर्वतनका लागि लड्न हिडेपछि धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । त्यतिबेला बम, बारुद्ध, गोली केही होइन् लाग्थ्यो । यदि हामी दुई चार जना मरेर समाज परिवर्तन हुन्छ भने हामीले मृत्यु स्विकार्नुपर्छ भन्ने सम्झेर हामी युद्धमा होमियौँ । मृत्युलाई दुई तरिकाबाट बुझ्नुपर्छ जस्तो लाग्छ । एक, मृत्यु कुखुराको प्वाँख भन्दा पनि हल्का हुन्छ । अर्को अन्कन्टार पहाडहरु भन्दा पनि कठोर मृत्यु । जन्मे पछि मान्छे मर्छ । यो स्वभाविक हो । तर समाजमा आमुल परिवर्तन ल्याउन कठोर मृत्युलाई पनि स्विकार्नु पर्छ । मैले परिवर्तनका लागि त्यही कठोर मृत्यु तर गौरवपूर्ण मृत्युलाई रोजें ।

 

सेनाको घेरा तोड्दा घाइते भएको त्यो क्षण

 

हामी फिल्डमा पाँच जना थियौं । सोलुको सदरमुकाममा जनमुक्ति सेना र नेपाली सेना बिच भिडन्त भयो । नेपाली सेना ५० जना थिए र हामी ५ जना । ५ जना मध्य महिला म मात्रै थिएँ । हतियार सहित नेपाली सेना, जनमुक्ति सेनाको कब्जामा परे । त्यही सिलसिलामा ओखलढुङगाको पूर्वी क्षेत्रमा पुगियो । संगठनको कामको सिलसिलामा नै पाँच जना कुराकानी गर्दै थियौं । हामीलाई घेरा हालियो । त्यहाँ म घाइते भएँ । संयोगवश पछाडि बाट लागेको एसएलएरको गोलीले मेरो छातीलाई छेड्न सकेन तर मेरो पाखुरा छेड्यो र म घाइते भएँ । एकजना साथी सहिद हुनुभयो । एक जना गिरफ्तारीमा पर्नुभयो तर हामीले घेरा तोड्न सफल भयौं ।

म घाइते हुदाँ मलाई जुन पीडा हुनुपर्ने हो त्यो पीडा भएन । हामी देशका लागि मर्न तयार भएर हिडेका थियौं र यो त सामान्य हो भन्ने लाग्यो । दनदनी बलिरहेको आगोमा हाम फाल्नु चानचुने कुरा थिएन । समाज परिवर्तन गर्छु भनेर हिडनु पनि सामान्य कुरा होइन । अहिले मलाई म घाइते भएँ, पछुतो भयो भन्ने किसिमको कुनै दुख र गुनासो छैन ।

 

जनयुद्धका नेतृत्वहरुको छेपारे प्रवृति

जनयुद्धमा उठाएका केही मुद्धाहरु आँशिक रुपमा पुरा त भए तर समग्र रुपमा पूरा भएका छैनन् । जनयुद्धका मुद्धाहरुलाई पछि सम्बोधन गर्ने, व्यवस्थापन गर्ने काम भएन । उदाहरणको रुपमा एउटा आमाले ९ महिनासम्म आफ्नो पेटमा राखेर बच्चालाई स्याहार गर्छ र ९ महिना पुरा भएपछि उसले जन्म दिन्छे । तर जन्मेपछि उसको स्याहार सुसार भएन । उसलाई यत्तिकै छाडियो । अब सोच्नुस् बच्चा कस्तो हुन्छ । हो, ठिक त्यस्तै हालत भयो जनयुद्ध र जनयुद्धमा उठाएका मुद्धाहरुको । छेपाराले फूल पार्छ र बच्चा जन्मन्छ तर आमालाई बच्चाको मतलब हुँदैन । छेपारा जस्तै भए नेतृत्व गरेकाहरु, १० वर्षे जनयुद्ध ठिक थियो तर त्यसको व्यवस्थापन गर्न र स्याहार गर्न सकेनन् ।
गणतन्त्र ल्याउने काम जनयुद्धले नै गरेको हो । यो हामीले छातीमा हात राखेर भन्न सक्छौं । तर मुुद्धाहरुलाई अनदेखा गरियो । नेतृत्वहरुले आफ्नो स्वार्थ र नातावाद, कृपावादका लागि त्यति महान जनयुद्धको तिलाञ्जली दिए । केही टुटफुट परिवर्तन आए तर अरु केही गर्न सकिएन ।

 

प्रचण्डको संसोधनवादी चिन्तन, वैद्यको आर्दश देखि विप्लवलाई हेर्दा 

 

प्रचण्ड संसोधनवादी दिशा तर्फ जाने पक्कापक्की देखियो । बाबुराम भट्टराई पनि समाज बनाउने दिशा तर्फ अग्रसर हुने देखिएन । त्यसपछि ६७ सालमा पाल्ुङटारमा बैठक बसियो । मोहन वैद्य दाइले क्रान्ति सम्पन्न भएको छैन, अझै गर्नुपर्ने काम धेरै छ भनेपछि त्यहाँ हामीले उहाँको दस्तावेजमा बहस गर्यौं । प्रचण्डहरु संसोधनवादको दलदलमा फसे भन्ने कुरा भयो । त्यसपछि हामी माओवादी केन्द्रमा नबस्ने निष्कर्ष निकालेर विभाजित भयौं । ६८ को असार ४ गते किरण दाइको नेतृत्वमा बौद्ध भेला भयो । किरण दाइको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ड्यास माओवादीमा सहभागी भएर काम गर्ने निणर्य भयो । लगभग डेढ दुई वर्ष निरन्तर त्यहाँ रहेर काम गरें । त्यसपछि फेरि अब यो आदर्शका कुरा मात्रै गरेर क्रान्ति हुँदैन भन्ने लाग्यो । त्यहाँ पनि आदर्शको मात्रै खेती भयो । त्यहाँबाट पनि निस्कें ।

क्रान्तिको लागि सर्मपित मान्छे चुपचाप बस्न सक्दैन । त्यसैले फेरि एकपटक नेत्रविक्रम चन्दको नेतृत्वलाई विश्वास गर्ने गल्ती गरियो । दर्शन र आदर्शका कुराले हुँदैन । व्यवहारमा लागु गर्यो भने दर्शन र व्यवहारको फयुजन हुन्छ र परिवर्तन आँउछ । त्यसैले व्यवहारमा नै जाने भनेर युवा नेता, जोशिलो नेता विप्लवले केही गर्छन् भनेर काँध थापियो तर हाम्रो काँधलाई सिँढी बनाएर केपी ओलिको टाङ मुनि छिर्न पुगे ।
पार्टीलाई प्रतिबन्ध लागेको बेला सुत्केरी अवस्थामा छोरी संगै जेलमा बस्नुपर्दाको क्षण सम्झदा र ८ वर्षको मिहिनेत र समय खेर गयो । पार्टी र क्रान्तिमा निरन्तर लाग्दाको अनुभवले मैले बुझें कि पार्टीलाई ठेकेदारी प्रथाबाट टाढा राख्नुपर्छ । हामीले क्रान्ति भनेर ज्यानको आहुती दिने र उता नेताहरुले ठेक्कापट्टा गर्न लागे । विप्लव सारसंग्रहवादको चिन्तनले ग्रसित बनेका रहेछन् । त्यसैले अब पनि विप्लवबाट क्रान्ति हुन्छ भन्नु मुर्खता मात्रै हो भनेर त्यहाँ बस्न ठीक लागेन । र, म ७५ सालमा त्यो पार्टीबाट पनि निस्किएँ । अहिले कतै लागेको छैन । बस मनमा निराशा मात्रै छ ।

अबको बाटो

नेतृत्वहरुको बारम्बारको धोकाले अब विश्वास गर्न त गाह्रो छ । तर, हामी क्रान्तिको बाटोबाट टाढा भाग्न सक्दैनौं । अहिलेको वैचारिक कार्यदिशा भएका र क्रान्तिका लागि मर्न तयार युवा पुस्ताले अबको कम्युनिष्ट आन्दोलन हाँक्नुपर्छ । अब फेरि बन्दुक बोक्ने बेला आएको छ । यो जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ । यदि फेरि लड्नुपर्छ भने र ज्यानको आहुती दिनुपर्छ भने म तयार छु तर नेतृत्व कसले र कस्ता मान्छेले गर्ने भन्ने कुरा सोच्नुपर्छ ।

 

 

 

 

सम्बन्धित खबर