ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख संजीव साह, वडा अध्यक्ष दामोदर धमला र इन्जिनियरसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले धमलासहित पाँच जनालाई करिब पाँच लाखको विगो दाबी र कैद जरिवाना दुवैको माग गरेको छ । उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला र प्रमुख प्रशासकीय अधिकृत खतिवडाबिच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गावाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन ईनसुलेटर स्पिन्नडल सामानहरु लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनेर फर्जी बिल बनाइएको थियो ।
साथै काम सम्पन्न भएको सिफारिस पनि फर्जी बनाई वडाध्यक्ष धमालाले भुक्तानीका लागि नगरपालिकामा दबाब दिएको स्थानीयको भनाई छ । जानकारहरुका अनुसार नगरपालिकासँग सुरुवाती सम्झौता गर्नु पर्नेमा आधा काम सम्पन्न भएपछि मात्रै सम्झौता गरिएको थियो ।नगरपालिकासँग भएको सम्झौता अनुसार १४ लाखको योजना रहेकोमा करिब पाँच लाख रकम भ्रष्टाचार भएको देखिएको छ ।
नेकपा एमालेबाट वडा नं.१० मा निर्वाचित भएका धमलाको डिजाइनमा यस्तो कार्य भएको आरोपीहरुले बताएका छन् ।
स्थानीयलेसमेत पटक–पटक बजेट हिनामिना भएको भन्दै नगरपलिकामा लिखित तथा मौखिक रुपमा उजुरी दिदै आएका थिए । नगरपालिकाले भने राजनीतिक आडमा उनीहरुको कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खतिवडा हाल जिल्ला प्रसाशन कार्यलय खोटाङका सिडिओ समेत हुन् ।


