ठगी र आपराधिक लाभ अभियोगमा पक्राउ परेका पूर्वडिएसपी गोविन्द थपलिया म्यादथप अघि नै रिहा !

दियो पोस्ट  

काठमाडौं । ठगी तथा आपराधिक लाभ मुद्दामा पक्राउ परेका पूर्वडिएसपी गोविन्द थपलिया ‘सेटिङ’मा छुटेको आरोप लागेको छ । ग्रिल व्यावसायी हरि श्रेष्ठलाई ५ करोड ५५ लाख रुपैयाँ ठगी आरोपमा गत असार ३१ गते पक्राउ परेका उनी भोलीपल्ट नै छुटेका हुन् । अदालतबाट पक्राउपुर्जीको आधारमा पक्राउ परेका उनले अदालत ‘सेटिङ’ गरेको आरोप छ । पीडित श्रेष्ठले अभियुक्त थपलियामाथि न्यायाधीश ‘सेटिङ’को आरोप लगाएका हुन्।

महानगरिय प्रहरी बृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीद्वारा गत असार ३१ गते थपलिया आफ्नै स्वामित्व रहेको कोशि म्यानपावरबाट पक्राउ परेका थिए । पक्राउ परेका उनलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्‍याएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेलबासेले उनलाई थुनामा राख्न नहुने भन्दै देवानी दायीत्वको विषय रहेको जिकिर गरेका थिए । उनै बेलबासेको इजलाशले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

हिरासतमा होइन हस्पिटलकाे डिलक्स रुममा बास

प्रहरीद्वारा पक्राउ गरिएका थपलिया कुनै पनि रोग नभएपनि हस्पिटलकाे डलक्स रुममा बसेको खुलाशा भएको छ । पक्राउ परेपछि उनी ज्ञानेश्वरस्थित हिमाल हस्पिटलको डिलक्स रुममा बसेका हुन् । प्रति रुम ७ हजार रुपैयाँ तिरेर उनी हस्पिटलमा भर्ना भएका हुन् । उनी एकदिन पनि हिरासत बस्नु नपरेको कागजातले देखाएको छ ।

‘मलाई अन्याय गर्ने गोविन्द थपलियाले न्यायधिश सेटिङ गरेर रिहा भए,’ श्रेष्ठको आरोप छ,‘पक्राउ परेको दिन पनि हस्पिटलको डलक्स रुममा बसेको रहेछ ।’

यस्तो थियो घटनाक्रम

श्रेष्ठले संचालन गरेको न्यू कालिका ग्रील तथा सोलार पिल्टर कन्स्ट्रक्सन प्रा.लि र थपलियाको स्वामित्व रहेको ग्रामिण कृषी फार्मबीच बुंगुरको खोर बनाउने विषयमा सहमति भएको थियो । थपलियाको कम्पनिले उक्त सम्झौता अनुसार शुरुमा १५ लाख रुपैयाँ अग्रिम भुक्तानी पनि दिए । कुल ६७ लाख रुपैयाँको लागतमा बुंगुरको फार्म बनाउने सहमतिमा उल्लेख थियो । श्रेष्ठ नेतृत्वको कम्पनिले काभ्रोपलान्चोकको पाँचखालमा बुंगुर खोर मात्रै होइन थपलियाको मौखिक आग्रहमा बख्राको खोर, बोइलर कुखुराको खोर, चल्ला राख्ने घर र गाइ भैँसीको फार्म समेत बनायो ।

 

श्रेष्ठको कम्पनीबाट नै निर्माण समाग्रीहरुसहित निर्माण काय सुरु भयो । ढुवानी तथा मजदुरहरुको ज्याला, रंगरोगन यी सबै काम श्रेष्ठकै कम्पनिले गरेको थियो । ६७ लाख रुपैयाँमा बुंगुर खोर मात्रै निर्माण गर्ने सम्झौता गरेको कम्पनिलाई थपलियाले ९ करोड १३ लाख रुपैयाँको लागत लाग्ने गरि निर्माणको काम लगाए ।

त्यसमध्ये ३ करोड रुपैयाँ बराबरको रकम पनि दिए । तर, बाँकी रहेको पैसा भने उनले दिएनन् । पैसा माग्दा पीडित श्रेष्ठलाई थपलियाले आफू नेपाल प्रहरीको पूर्व डिएसपी हुँ भन्दै पदको धम्की दिने गरेको श्रेष्ठको आरोप छ । थपलिया विरुद्ध उनले काठमाडौं प्रहरी, सरकारी वकिल कार्यालय मात्रै होइन विभिन्न निकायमा उजुरी गरिसकेका थिए । तर, पक्राउपुर्जी भने आएको थिएन ।

 

पीडित श्रेष्ठले काठमाडौं प्रहरी लगायत विभिन्न स्थानमा दिएको जाहेरी अनुसार उक्त निर्माण कार्यको नाँपजाँच गरि जम्मा रकम ९ करोड १३ लाख रपैयाँ उक्त कृषी फार्म स्थापनागर्दा खर्च भएको छ । तर थपलियाले सम्झौता विपरित गएर जम्मा ३ करोड ६८ लाख मात्र भुक्तानी गरे । श्रेष्ठले बाँकी रहेको ५ करोड ४५ लाख माग्दा थपलियाले उल्टै ज्यान मार्ने धम्की दिन थालेको उनको आरोप थियो । “गत साल २०७८ फागुन १९ गते काभ्रेको पाँचखालस्थित उनको कषि फार्ममा बोलाएका थिए । उनले भनेको मिति र समयमा हामी उक्त स्थानमा पुग्दा प्रहरी लगायत अन्य व्यक्तिहरुको प्रयोग गरेर पारिश्रमिक लिन गएका हामीलाई बाँकी पैशा दिन्न भन्दै धम्कीसहित गाली गलौज गरे,’ उनले दियोपोस्टसँग भनेका थिए ।

 

थपलियाको धम्कीपछि तत्काल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकमा शान्ति सुरक्षाको निवेदन दिए । तर थपलियाको धम्की रोकिएन । उनले आफू उच्च पदस्त पूर्व कर्मचारी भएको र आफ्नो न्यायालयसम्म उच्च पहुँच रहेको भन्दै थप धम्क्याउन थालेको आरोप पीडित लगाउँछन् । आफ्नो कम्पनीले गरेको काम र निर्माण सामाग्रीको पाउँनु पर्ने रकम नपाएपछि श्रेष्ठले गत भदौ १३ मा उजुरी दिएका थिएका थिए ।

ठगीको आरोप लागेका पूर्व डिएसपी थपलिया म्यानपावर व्यावसायी समेत हुन् । उनको म्यानपावरमा प्रहरीकै उच्च अधिकारीहरु साझेदार रहेका छन् । आफूले पाउनुपर्ने रकमको भ्याट बिल सहितको दाबी पेश गर्दा पनि थपलियाले भुक्तानी नदिएको उनको आरोप छ ।