३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृहलाई हेडक्वाटरको सिफारिस

दियो पोस्ट  

काठमाडौं । व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले गृह मन्त्रालयमा सिफारिस गरेको छ। हेडक्वाटरले गरेको आन्तरिक छानबिनका क्रममा गम्भीर गल्ती गरेको देखिएकाले उनलाई बर्खास्त गर्नुपर्ने भन्दै गृहलाई सिफारिस गरिएको हो।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने राय दिएपछि सोही अनुसार बर्खास्तका लागि भन्दै गृह मन्त्रालयलाई प्रहरी हेडक्वाटरले पत्राचार गरेको हो। प्रहरी ऐन तथा नियमावली २०७१ विपरीत कार्य गरेको पाइएको भन्दै डीएसपी केसीलाई बर्खास्त गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख गरिएको छ।

करिब एक साताअघि नै प्रहरी प्रधान कार्यालयले सेवाबाट हटाउन सिफारिस गरे पनि अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकिएको छैन।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख डीएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए। बर्दीको आडमा व्यवसायीको ३५ तोला सुन ‘लुटेको’ आरोप लागेपछि डीएसपी केसीले सुन फिर्ताका लागि समेत रकम लिएका थिए।

रकम दिँदा समेत सुन फिर्ता नपाएपछि उक्त कुराको जानकारी प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियो। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिएपछि डीएसपी तपन दाहालको कमाण्डमा खटिएको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो।

लुटिएको ३५ तोला सुन र नगद, चेक गरी २५ लाख रुपैयाँ उनको क्वार्टरबाट बरामद भएको थियो। सुन, पैसा र चेकसहित पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले पुस १४ गते नै उनलाई निलम्बन गरेको थियो।