काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने दाबी गरे।
उनले भने, ‘मैले बारम्बार भनेको छु कि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धानको प्रक्रिया अघि बढाइनेछ। त्यो अनुसन्धानले तथ्य, प्रमाणको आधारमा जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अघि बढ्छ। दोषी र अपराधीलाई छोड्ने काम हुँदैन। धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई एउटा कानुन म मान्दिनँ, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन, राजनीतिक नेताहरूलाई एउटा कानुन अनि राजनीतिमा नरहेकालाई अर्को कानुन हुन सक्दैन। कानुन सबैका लागि समान हुन्छ।’
उनले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाए। मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको बताए। मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरूलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताए।