
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित ‘दूरगामी बचत तथा ऋण’ सहकारी संस्थाका सञ्चालकहरु बचतकर्ताको करोडौँ रकम अपचलन गरी फरार भएका छन् । बचतकर्ताले जम्मा गरेको करिब २५ करोड रुपैयाँ अपचलन गरी सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार भएका हुन् ।
संचालक फरार भएपछि वडा कार्यालयको रोहवरमा सञ्चालक समितिका अन्य पदाधिकारी तथा सदस्यले सहकारीमा तालाबन्दी गरेका छन् । सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालाबन्दी गरेको बताईएको छ ।
सहकारी आर्थिक सङ्कटमा फसेपछि संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुली मोबाइल स्विच अफ गरी फरार छन् ।
तिलोत्तमा–३, सिर्जना चोकमा रहेको उक्त सहकारी सङ्कटमा परेपछि ठुलो सङ्ख्यामा बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले बताए ।
संस्थामा करिब २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशङ्का गरिएको छ । सोमबार संस्थामा भएको बैठकमा अनियमितताबारे छानबिन गर्न छानबिन समिति बनाउने र उक्त छानबिन समितिलाई सघाउन स्वतन्त्र लेखा परीक्षण गर्ने निर्णय भएको थियो ।
कोषाध्यक्ष वज्राचार्यले मङ्गलबार बसेको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिँडेपछि माहोल बिग्रिएको बताए । उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा १०-१२ करोड अपचलन भएको देखिन्छ, तर कतिपय फाइल र ऋण प्रवाह भएका कागजपत्र कमजोर देखिएकाले अपचलन भएको रकम बढ्न सक्छ ।’
माइन्युट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिँडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए । गत सोमबार संस्थाका अध्यक्ष र सचिवले जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्युट गरेकोमा उक्त माइन्युट नै लगेर फरार भएपछि अन्य पदाधिकारी तथा सदस्यले संस्थामा थप आर्थिक हिनामिना रोक्न भन्दै मङ्गलबार तालाबन्दीको निर्णय गरेका थिए ।
उनीहरूले सहकारीमा सुरक्षाको माग गर्दै प्रहरी कार्यालय ड्राइभरटोलमा निवेदन दिएपछि ड्राइभरटोलको प्रहरी टोली पनि सहकारीमा गई मुचुल्का गरेको थियो ।
ड्राइभरटोल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जीवन खड्काले सहकारी संस्थाबाट सुरक्षाको माग गर्दै निवेदन आएकाले स्थलगत निरीक्षण गरी मुचुल्का उठाउने काम गरिएको र आवश्यक वस्तुस्थिति बुझ्दा सहकारी संस्थाको ठुलो रकम अपचलन भएको पाइएको बताए ।
उनले भने, ‘व्यवस्थापकले मात्रै पनि पाँच/सात करोड लगेको भन्ने कुरा आएको छ, यो सबै डिभिजन सहकारी कार्यालयले हेर्ला, बचतकर्ताको ठुलो रकम हिनामिना भएको देखिन्छ ।’
सहकारीबाट पाँच लाख रुपियाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२/१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको समेत देखिएको छ ।
त्यस्तै सेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौँ रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ । उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपियाँ छ ।
तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपियाँ बचत अपचलन भएको देखिएको बताए ।
उनले अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहवरमा थप हिनामिना हुन नदिन संस्था सिल गरिएको जानकारी दिए ।
सहकारीमा करिब एक हजार नौ सयको हाराहारीमा सेयर सदस्य रहेका छन् । यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुलीलाई सम्पर्क गर्ने प्रयास गरिएतापनि फोन स्विच अफ भएकाले सम्पर्क हुन सकेन ।