सन्तानले विदेशी नागरिकता पाउँदा ‘खुशी’ हुने अभिभावकहरु सन्तान भेट्न नपाउँदा पीडामा

दियोपोस्ट संवाददाता

ब्यक्ति कुन देशको नागरिक हो भनेर प्रमाणित गर्ने एउटा प्रमुख दस्तावेज हो ‘नागरिकता’ । तर, पछिल्लो समय नेपालमा आफ्नै देशको नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या उल्लेख्य छ । अध्ययन र रोजगारीका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत तथा अन्य युरोपियन मुलुक पुगेका नेपालीहरुले धमाधम नेपाली नागरिकता त्यागिरहेका छन् । उनीहरु त्यहीँ देशको नागरिक बन्ने क्रम जारी छ ।
बिदेशी नागरिकता लिईसकेका नेपालीले नेपालको नागरिकता त्याग्नका लागि सिडियो कार्यालयमा निवेदन दिन्छन् । त्यसपछि गृह मन्त्रालयले त्यसलाई प्रमाणिकरण गरिसके पछि ऊ यो देशको नागरिक नै हुँदैन ।

त्यतिमात्र होइन, उ बिदेशी नागरिक भइसकेपछि नेपालमा हुने कुनै गतिविधिसँग उनीहरुको सरोकार नै रहँदैन । नेपाल आउन पनि उ भीसा लगाएर आउनुपर्छ । आफ्ना सन्तानले बिदेशी नागरिकता पाउँदा खुसी हुने अभिभावकहरु पछिल्लो समय आफ्ना सन्तान भेट्न नपाउँदा पीडामा छन् । त्यतिमात्र होइन, आफ्नो सन्तान भेट्न जान पाऊँ भन्दै परिवारहरु दूतावास धाइरहेका छन् ।

एउटै आमाबुवाका सन्तानहरु छुट्टाछुट्टै देशको नागरिकता लिएर बिदेशी भइसकेका छन् । तर छुट्टाछुट्टै देशको नागरिकता लिइसकेको अवस्थामा उनीहरु कसरी एकाघरको हुन सक्छन्? भन्ने प्रश्न उठिरहेको छ । अझ अचम्मको कुरा त के छ भने, नेपाली भन्ने सबै पहिचान गुमाइ सकेकाहरुलाई आफ्नो सन्तान भन्दै अभिभावकहरु भेट्न खोजिरहेका छन् ।

अनि जनताचाँहि आफ्नो छोराछोरी भेट्न लाखौं रुपैयाँ खर्च गरेर दूतावास पुगिरहेका छन् । वबस्तवमा यहाँ ठूलै झेल भएको देखिन्छ । सरकारले नबुझेको हो कि जनताले? कि त दूतावास नै प्रष्ट छैन । नागरिकता त्याग्नु उसको मर्जी हो । उसले आफूखुशी नागरिकता त्यागेको हो ।
यही देशमा जन्मेर, हुर्केर, पढेर, यहीँ देशको अन्नपात खाएकाहरु जब देशलाई आवश्यक पर्छ उनीहरु विदेश उडे । सरकारले शिक्षा, स्वास्थ्यलगायतका सुविधा दियो । तर, जब देशका लागि केही गर्ने बेला आयो, उनीहरु विदेश गए ।

त्यहाँको सेवासुविधामा उनीहरु रुमल्लिए । पछि नागरिकता नै त्यागे । सरकारको लगानी वालुवामा पानी जस्तै भयो । आफ्नो खुट्टामा उभिएपछि न उसलाई बुवाआमा चाहियो, न देशको भूभाग, न सरकार न नागरिकता । कानुनतः नागरिकता त्यागिसकेपछि बुवाआमाले सन्तान हकदाबी गर्ने कुनै बाटो नै रहँदैन ।

तैपनि आफ्नो सन्तान भेट्न जाने भन्दै दूतावासको चक्कर काटिरहेका छन् अभिभावक । यसमा सरकारको कमजोरी देखिन्छ ।
त्यसो त, सन्तानले नागरिकता त्याग्ने बेलामा सरकारले अभिभावकलाई प्रष्ट पारिदिनु पथ्र्यो । नागरिकता त्यागेपछि आफ्नो सन्तान भन्ने बाटो रहँदैन भनेर सरकारले स्पष्ट गरिदिनु पथ्र्यो । तर, सरकारले त्यसो गरेन । एउटा जिल्लाबाट अर्को जिल्ला बसाइँसराइँ गरेमा त पुरानो जिल्लासँग सबै सम्बन्ध तोड्नुपर्छ भने यो त नागरिकताको कुरा ।

सरकारले १६ वर्ष पुगेपछि नागरिकता दिने व्यवस्था गरेको छ । नागरिक भएपछि घरजग्गालगायतका सम्पत्ति आफ्नो नाममा राख्न पाइन्छ । बैंक खाताको हकमा १८ वर्ष लाग्नुपर्छ । घरजग्गा बिक्री गर्न जाँदा मालपोतका हाकिमले अगाडि उभ्याएर मञ्जुरी, ल्याप्चेबारे सोधीखोजी गर्छन् । पैसा लिए–नलिएको भनि पनि सोध्छन् । एकपटक बेचेको सम्पत्ति फेरि मलाई चाहियो भन्दा पाइँदैन ।

यसरी नै अभिभावकहरुले आफ्ना सन्तानलाई बिदेश बेचेका छन् । नागरिकता त्याग्नु आमाबुवा त्याग्नु, आफ्नो सम्पत्ति त्याग्नु हो । लाखौंले नेपाली नागरिकता त्यागेका छन् । कमाएर पठाउँछु, तपाईँलाई पाल्छु भनेर छोराछोरीले विदेशको नागरिकता लिन्छन् । यता, अभिभावकको चाँहि बिजोग छ । आफैंले जन्माएको, हुर्काएको सन्तान भेट्नका लागि अभिभावकले सास्ती खेपिरहनु परेको छ ।

आफ्नो सन्तान र सम्पत्ति गुमेको अभिभावकले थाहा पाएनन् । आफैंले २० देखि ४० लाख रुपैयाँ खर्च गरेर विदेश पठाउँछन्, अहिले त्यहीँ सन्तान भेट्न दुःख पाइरहेका छन् । यता, सरकारले पनि आफ्नो जनशक्ति गुमेको सुइँको पाएन । पूँजी र जनशक्ति जम्मै बाहिर जाँदाको असर सरकारले भोग्दै छ । यता, अभिभावकले पनि बल्ल बुझ्दैछन् । तर, समय घर्किएपछि चेत आएर के फाइदा ?

नेपाल प्राकृतिक रुपमा सुन्दर छ । विदेशीहरु यहाँ आउँछन्, वाहवाह गर्छन् । यद्यपि, उनीहरु आफ्नो देश छोड्दैनन् । तर, नेपाली त देश छोड्न अब्बल छन् । अमेरिका, अष्ट्रेलिया, युरोप नेपालको पूँजी र जनशक्तिले बनेको हो । त्यही पूँजी र जनशक्ति यहाँ प्रयोग गर्न पाएको भए आज देशले कोल्टो फेरिसक्थ्यो । तर, सरकारले यो कुरा कहिल्यै बुझेन । जनतालाई आफ्नै देशमा बस्नुपर्छ, काम गर्नुपर्छ भनेर सिकाएन ।
जसको नतिजा विस्तारै देखिँदैछ । आफ्ना सन्तन अमेरिका, अष्ट्रेलिया पुग्दा अभिभावक सन्तान बिहिन बनेका छन् । स्वदेशमा अभिभावकको बिजोग छ । मर्ने बेलामा एक मुठ्ठी पानी दिने पनि कोही छैनन् ।

उमेर पुगिसकेका बृद्ध आमाबुवालाई बिदेश लैजान खोज्दा विकसित मुलुकले अर्काको देशको जेष्ठ नागरिकलाई आफ्नो देशको लागि बोझ ठान्छ र भीसा दिँदैन । नेपालमै पनि निरोगी, बलियो, पैसावाल, राम्रो जागिर भएका युवालाई मात्र कोठा दिने चलन छ ।

नेपालमै पनि एउटा नेपालीले अर्को नेपालीलाई यस्तो व्यवहार गर्छ भने विदेशले भीसा नदिनु स्वाभाविकै पनि हो । अमेरिका–अष्ट्रेलिया लगायत मुलुकको रणनीति नै पढेको, सम्पत्ति भएका, निरोगी, काम गर्न सक्नेलाई आफ्नो देश लैजाने हो । सरकारी सेवालाई भन्दा बढी छान्छन्, यी मुलुकले ।

यस्तो अवस्थामा सरकारले अब एनओसी दिन बन्द गर्नुपर्छ । वैदेशिक रोजगारीमा जान दिनुपर्छ तर पढ्ने नाममा एनओसी बन्द गरेको खण्डमा यो समस्याबाट अलिकति भए पनि मुक्त हुन सकिन्छ ।

किन कि सकेजित एनओसी दिँदा देशलाई क्षति हुनुका साथै अभिभावक पनि मर्कामा परिरहेका छन् । अनावश्यक एनओसी दिँदा नेपाल सरकार र सिंगो नेपाललाई नै हानी भइरहेकोछ ।

नेपालबाट एनओसी लिएर गएकाहरु उता आफ्नो जिन्दगीमा मस्तमगन हुन्छन् । तर यहाँ तिनका अभिभावकहरुको भने बिल्लीबाठ भएको छ । अब सरकार सचेत हुनुपर्छ । छोराछोरीको बिदेशीे भीसा लाग्नेबित्तिकै अभिभावकले आफन्त बोलाएर भोज खान दिन्छन् । भीसा नलाग्दा मात्र उनीहरुको चेत खुल्छ ।\

हिजो सन्तानले उताको नागरिकता पाउँदा गद्गद् भएकाहरु अहिले निराश बनेका छन् । छोराछोरी अर्को देशको नागरिक भएपनि अभिभावक नेपाली नागरिकता बोकेरै बसेका छन् । सरकारले उनीहरुलाई पेन्सन र भत्ता दिइरहेकै छ । भोलि बुवाआमा मर्दा सन्तान आउन सकेनन् भने त्यसको जिम्मा सरकारले लिन्छ । दाहसंस्कारदेखि सबै कर्म सरकार र नेपालीले गर्छन् ।

आफ्नै रगत भएपनि अर्को देशको नागरिक भइसकेपछि केही काम लाग्दैन । मर्दा र पर्दा आफूसँग नहुने सन्तानहरु के कामको? नाम मात्रको सन्तान बन्छन् । अन्तिममा काम लाग्ने त त्यही छिमेकी र सरकार हो । उमेर ढल्किँदै गएपछि अभिभावकहरुले छोराछोरीको अभाव महसुश गर्छन् । छोराछोरलिाई विदेश पठाउनुको साटो यही राखेको भए हुन्थ्यो भनेर उनीहरु थक्थकाउँछन् ।

छोराछोरी अर्काको देशको नागरिक बनिसके पछि थकथकी मानेर के फाइदा? बुवा जुन देशको नागरिक हो, उसको सन्तान त्यही देशको नागरिक हुन्छ । नागरिकता त्यागिसकेका व्यक्तिहरुको सन्तानको पनि नेपालसँग कुनै सम्बन्ध रहँदैन । सरकारी विद्यालयमा पढ्नेहरु खाडी गएका छन् । पढेर रेमिट्यान्स पठाएका छन् । आफ्नो सन्तान पालेका छन् । फर्किएर आएर आफ्नो सन्तान र परिवारसँग रमाएका छन् ।
यहीँ मतदान गर्छन्, सरकारलाई कर तिर्छन् ।

तर, निजी विद्यालयमा पढेकाहरु अधिकांश अमेरिका अस्ट्रेलिया पुगेका छन् । प्रश्न उठ्छ, निजीले कस्तो शिक्षा दिइरहेको छ? अब राज्य र अभिभावक सचेत हुनुपर्छ । आफ्नो सन्तान र सम्पत्ति गुमाउने काम अभिभावक र राज्यबाट नहोस् । नेपाली नागरिकता त्यागेकाले त्यागिहाले, अब त्याग्न नदिऔं ।

अनुसा थापा
भक्तपुर

 

सम्बन्धित खबर