अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचार : नायब सुब्बासँग डेढ करोड अकुत सम्पत्ति

दियो पोस्ट  

श्रीमतीको नाममा राखेका थिए डेढ करोड अकुत सम्पत्ति

काठामडौं, असार १६ । अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले छानबिन थालेको थियो । उनले १७ असार ०४० मा सरकारी जागिर सुरु गरेका थिए । त्यसयता तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति जोडेकोमा दुई करोड २८ लाख ६४ हजार दुई सय आठ रुपैयाँबराबरको मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ । स्रोत खुल्न नसकेको एक करोड ५६ लाख सम्पत्ति जफतको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अकुत सम्पत्तिमा श्रीमती सुचितादेवी झासमेतलाई प्रतिवादी बनाई अख्तियारले मुद्दा चलाएको छ । अकुत सम्पत्ति उनले श्रीमतीका नाममा राखेका थिए ।

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकका विश्वासपात्र

सुब्बा झा घुस प्रकरणमा राजीनामा दिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकका विश्वासपात्र थिए । पाठकमाथि छानबिनकै क्रममा अख्तियारमा झामाथि समेत उजुरी परेको थियो । ‘उनीसँग आठ–नौ करोड सम्पत्ति नै छ भन्ने सूचना थियो,’ अख्तियार स्रोत भन्छ, ‘तर, धेरै सम्पत्ति भेट्टाउन सकेनौँ ।’ स्रोतका अनुसार पूर्वआयुक्त पाठकले समेत झाकै नाममा सम्पत्ति राखेका थिए । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरिसकेको छ । विशेष अदालतले मागेको ७८ लाख धरौटी बुझाएर उनी तारेखमा छन् ।

पाठक अख्तियारमा हुँदा नासु झालगायत केही कर्मचारीको गोप्य टिम बनाएका थिए । भ्रष्टाचार मुद्दा चलाइदिने धम्की दिएर सो समूहले पैसा असुल्ने गथ्र्यो । समूहका नाइके नै झा थिए । जनकपुर घर भएका उनी पाठकका विश्वासपात्र कर्मचारी भएर आकर्षक कार्यालयमा बसी अकुत कमाएको अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीले बताए ।
कर्मचारीको अकुत सम्पत्तिमाथि अख्तियारले एक वर्षयता अनुसन्धान तीव्र बनाएको छ । धेरैजसो तल्लो तहका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । किनभने सानो पदका कर्मचारीसँग करोडौँ अकुत सम्पत्ति भेटिएको छ ।

दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित अख्तियारले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । उनले लामो समय भन्सारमा बसेर काम गरेका थिए । सरकारी जागिरमा जोडिएपछि उनले एक करोड १४ लाख ९१ हजार एक सय ५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । ०५६ मा सरकारी सेवामा आबद्ध भएका उनीसँग अख्तियारले तीन करोड १४ लाख ९९ हजार हजार ६ सय ९१ रुपैयाँ सम्पत्ति भेटाएको हो ।

अध्यागमनमै बसेर अकुत सम्पत्ति कमाएको अभियोगमा अधिकृत रमाकान्त अर्यालविरुद्ध १६ जेठमा मुद्दा दायर भएको थियो । दुई करोड ६ लाख ८९ हजार एक सय ११ रुपैयाँबराबरको सम्पत्ति जफतको माग गरी उनीविरुद्ध मुद्दा दायर भएको हो । जागिर खाएको २० वर्षमा उनले सो सम्पत्ति कमाएका थिए । अर्याल २३ भदौ ०५९ मा निजामती सेवामा प्रवेश गरेका थिए ।

पछिल्लो समय उनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहीँ रहँदा उनीविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । गत वर्षसम्म उनको सम्पत्ति चार करोड ५६ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ रहेको पाइएको थियो । जागिरको अवधिमा अध्यागमन कार्यालयलगायत उनी अतिरिक्त कमाइ हुने कार्यालयमा बसेका थिए । अख्तियारको छानबिनपछि अध्यागमनबाट गृहमा सरुवा भएका थिए । अर्यालले धेरैजसो सम्पत्ति श्रीमती सरिता नेपालको नाममा राखेका थिए ।

भन्सारका नासुसहित १४ करोड
भन्सारका नासु श्यामच्यामु श्रेष्ठसँग १४ करोड अकुत सम्पत्ति भेटिएको थियो । १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ बिगो दाबी गरी उनीविरुद्ध मुद्दा दायर भएको थियो । श्रेष्ठ विमानस्थलबाट हुने ३३ किलो सुन तस्करी मुद्दामा समेत जोडिएका कर्मचारी हुन् । गत १९ कात्तिकमा आयोगले पूर्वसहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बिगो दाबी गरेको थियो । सरकारी जागिर छाडेर राजनीतिमा लागेका उनी मधेसी दलनिकट ट्रेड युनियनका नेता बनेका थिए । उनी राजपाका उपमहासचिव छन् ।

त्यस्तै, यातायातका नासु सुरेश अधिकारीसँग पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ स्रोत नखुलेको सम्पति भेटिएको छ । उनले राजस्व नै हिनामिना गरी सम्पत्ति कमाएका थिए । २३ वैशाखमा उनीविरुद्ध मुद्दा दायर भएको हो । आयोगले केही उच्चपदस्थ कर्मचारीविरुद्ध समेत मुद्दा दायर गरेको छ । गत २३ पुसमा आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्तिसम्बन्धी मुद्दा दायर गरेको थियो । उनीसँग १८ करोड ६६ लाख पाँच लाख ६ सय २९ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।

गत २५ पुसमा वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रमान श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले गत बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।गत २१ असोजमा आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरविरुद्ध मुद्दा दायर गरेको थियो । स्रोत नखुलेको तीन करोड १८ लाख ७३ हजार सात सय २० रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको थियो । उनले ६ वर्षकै अवधिमा यति रकम कमाएका थिए । १ माघ ०५९ मा मात्र उनी सरकारी जागिरमा जोडिएका थिए । नयाँपत्रिका दैनिकबाट