काठमाडौं, असार १६ । तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।
तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ।
विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग ९ट्याक्सी वे० र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ।
झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो।
समयभित्रै सकियो
चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ंसोमवार बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म दैनिक अर्थात् २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याउँदैछौँ।’
तीन महिलाको अवधिमा विमानस्थल राति १० बजे नै बन्द गरेर रातभरि निर्माणको काम गरिएको थियो।
त्यतिखेर तोकिएको समयभन्दा केही ढिला उडानका लागि तयार भएको नेपाल वायुसेवा निगमको विमान उड्न नदिएको विषयले निकै चर्चा पाएको थियो।
त्रिभुवन विमानस्थलमा दैनिक औसत चार सय पटक उडान र अवतरण हुने गर्छन्।
नयाँ कालोपत्र गरिएसँगै कम्तीमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ।
धावनमार्गको काम सकिए पनि विमानहरू उड्नुअगाडि प्रयोग गर्ने मार्ग ट्याक्सी वे र विमानस्थल भित्री सडकको निर्माणको काम भने अझै बाँकी रहेको छ।
जुन काम अबको दुई महिनापछि सुरु गरिने र उक्त अवधिमा राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल फेरि बन्द गरिने बताइएको छ। बीबीसीबाट