गल्छी गाउँपालिकामा ‘क्वारेन्टाइन खाना खर्च’मा अनियमितता : बीलबिनै ७ लाख भुक्तानी !

गल्छी गाउँपालिकामा ‘क्वारेन्टाइन खाना खर्च’मा अनियमितता : बीलबिनै ७ लाख भुक्तानी !

दियोपोष्ट संवाददाता
धादिङ, २७ असार । धादिङको गल्छी गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ को नाममा ब्रम्हलुट भएको पाइएको छ । गाउँपालिकाका उच्च अधिकारीकै मिलेमतोमा क्वारेन्टाइनमा भएको खर्च भन्दै बिल भर्पापाई बिनै लाखौँ रकम भूक्तानी दिएको पाइएको हो ।


गाउँकार्यापालिकाले २४ गते गरेको निर्णयमा ‘बिल भर्पाइ बिना नै क्वारेन्टाइन खर्चका नाममा केही होटललाई भुक्तानी दिनका लागि गरेको निर्णय दियोपोष्टले फेला पारेको छ ।


गाउँपालिकाको निर्णय अनुसार कोभिड १९ नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न शिर्षकमा ३२ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।


उक्त रकममध्ये बागेश्वरी माविमा सञ्चालित क्वारेन्टाइनमा चैत्र ११ देखि जेष्ठ अन्तिमसम्म ७ लख ३३ हजार रुपैयाँको खाना खाएको पाइएको छ । गाउँपालिकाको आग्रहमा बैरेनी रेष्टुरेन्ट एण्ड लजले खाना खाजा खुवाएको बताइएको छ । भ्याटमा समेत दर्ता नभएको उक्त रेष्टुरेन्टले ७ लाख ३३ हजार रुपैयाँ भुक्तानी लिएको हो ।

सामान्यतया २० हजार रुपैयाँभन्दा माथिको रकम भ्याट बिलकै आधारमात्रै भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नियम छ ।

तर, गाउँपालिकाले उक्त रेष्टुरेन्टलाई बिना भ्याटबिल त्यतिका रकम भुक्तानी दिने निर्णय गरेको भन्दै वडा नम्बर ६ का वडाध्यक्ष राजन श्रेष्ठले कार्यापालिकाको निर्णयमा असहमति देखाएको देखिन्छ ।

यस विषयमा प्रतिक्रिया लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको मोबाइलमा पटक पटक फोन गर्दा फोन उठेन ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको कर्तुत : अमेरिका घुम्न सरकारी कागजात दुरुपयोग !

Trending News