काठमाडौं । काडमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले मनोमानी रुपमा करोडौं ऋण अपचलन गरेको पाइएको छ ।
अध्यक्ष मानन्धरले आफ्ना श्रीमतीका नाममा मात्रै होइन आफ्ना नातागोताको नाममा समेत करोडौं ऋण बिना धितो प्रबाह गरेको स्टेटमेन्ट फेला परेको छ ।
सहकारीको आवरणमा ढुकुटीको धन्दा चलाउँदै आएका मानन्धर र उनकी पत्नि शर्मिला मानन्धर २०७२ भदौमा पक्राउ समेत परेका थिए ।
माननन्धर दम्पत्तिले सहकारीबाट पटक पटक बिना धितो करोडौं रुपैयाँ निकालेको देखिएको छ ।
स्टेटमेन्ट अनुसार मानन्धरको नाममा कस्टोमर कोड ००२००२३७ मा ६५ लाख ४४ हजार ४ सय ७० रुपैयाँ ऋण प्रवाहा भएको छ । स्रोतका अनुसार यतिका रकम निकालेका मानन्धरले धितो भने राखेका छैनन् । त्यस्तै उनकै नाममा कस्टोमर कोड ००१००३४९४ मा एक करोड ४३ लाख २७ हजार पाँच सय रुपैयाँ ऋण निकालिएको छ । उक्त रकम समेत बिना धितो निकालिएको ऋण असुली विभागका एक अधिकारीले बताए । करोडौं रुपैयाँ ऋण निकालेका मानन्धरले आफूले ब्याज समेत नबुझाएको स्रोतले बताएको छ । यद्धपी सर्वसाधारण ऋणीले भने १८ प्रतिशत भन्दा बढी ब्याज बुझाउँदै आएका छन् ।
ढुकुटी काण्डमै पक्राउ परेकी उनकी श्रीमतीको नाममा समेत ऋण अपचलन भएको पाइएको छ । मानन्धरकी श्रीमती शर्मिला मानन्धरको कस्टोमर कोड ००२०००१४१ को नाममा १ करोड ५ लाख ७९ हजार १ सय ८ रुपैयाँ निकालिएको देखिन्छ ।
अर्को कस्टोमर कोड ००१००२४२४ नम्बरमा शर्मिलाकै नाममा ८२ लाख २९ हजार ५ सय १ रुपैयाँ ऋण निकालिएको छ ।
मानन्धरकै अर्का आफन्तको नाममा ५३ लाख भन्दा बढी रकम ऋण प्रवाहा भएको स्टेटमेन्टमा देखिन्छ । त्यस्तै अर्का एक आफन्तको नाममा एक करोड ४७ लाख रुपैयाँ ऋण निकालिएको छ । २ जना अन्य आफन्तको नाममा ४० लाखभन्दा बढी रकम निकालिएको स्टेटमेन्टबाट देखिन्छ ।
नेपाली कांग्रेसको इचंगुनारायण नगरसभापति समेत रहेका मानन्धर सहकारी बैंकका सञ्चालक समेत हुन् । २०७२ साल भदौमा ढुकुटीमा ७५ लाख ठगी गरेको भन्दै मानन्धर र उनकी पत्नि शर्मिला मानन्धरलाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।
उनले ढुकुटीबाट नृपेन्द्र श्रेष्ठलाई ठगी गरेका थिए । २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि मानन्धरलाई प्रहरीले पक्राउ गरेको थियो ।
बचतकर्ताहरुको अर्बौं रुपैयाँमा मनोमानी रजाइँ गर्दै आएका अध्यक्ष मानन्धरमाथि सहकारी विभागले समेत छानबीन गरिरहेको पाइएको छ ।
त्यसो त एक जना व्यक्तिलाई विना धितो ८५ लाख रुपैया ऋण दिइएको छ । ५ हजार ३ सय ९९ जना शेयर सदस्य रहेको सहकारीमा सञ्चालकका कारण बचतकर्ता र सदस्यहरुको रकम जोखिममा पर्ने अवस्था आएको भन्दै सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।
सीतापाइला सहकारीले ऋण दिएको भनिएको एपेक्स डेप्लोपर संस्था नै नभएको बताइन्छ । उक्त संस्थाले एक करोड २४ लाख ऋण लिएको छ । मानन्धरले सहकारीको पैसा निकाले घरजग्गा दलाली धन्दामा समेत लगानी गरेको सहकारीका एक सञ्चालकले दियोपोष्टलाई बताए ।
२०५६ साल फागुन ९ गते दर्ता भएको सहकारीको नागर्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका र काठमाडौंका केहि वडाहरुमा कारोबार गर्दै आएको छ । ९३ करोड ४१ लाख २१ हजार ७६८ रुपैया निक्षेप रहेको सहकारीमा कुल सम्पत्ति २० औ साधारणसभासम्ममा १ अर्ब ९ करोड ९६ लाख १९ हजार दुई सय ३४ रुपैया रहेको छ ।
के छ कानूनी व्यवस्था ?
राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा सहकारी संघका कानूनी सल्लाहकार एवं उच्च अदालत बार एशोसियसन पाटनका अध्यक्ष अधिवक्ता रामचन्द्र सिम्खडाका भन्छन् ‘सहकारी संस्थामा सञ्चालक समितिमा रहेका कसैले पनि ऋण लिन पाइँदैन । तर, कतिपय सहकारीहरुले जानी बुझिकनै यस्ता काम गर्दै आएका छन् । त्यसैकारण समस्याग्रस्त अवस्था सिर्जना भएको हो । यसको कडाईका साथ पालना गराउनुपर्दछ’ ।