काठमाडौंमा घरेलु कामदारमाथि चरम श्रम शोषण : न्युनतम १३४५० रुपैयाँ पनि पाउँदैनन्

दियोपोस्ट संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि इण्डियाकी महावाणिज्य दुत देवयानी खोब्रागाडेलाई श्रम मन्त्रालय अन्तर्गत उजुरी परेपछि अमेरिकी रेडगार्डले पक्राउ ग¥यो । उनले इण्डियाबाट घरेलु कामदारका रुपमा लगेकी एक महिलालाई त्यहाँको कानून अनुसारको न्यूनतम ज्याला दिनबाट चुकेकी थिइन् ।

अर्थात अत्यन्तै कम तलब दिएकी थिइन् । त्यो समयमा अमेरिकी कानून अनुसार घरेलु कामदारलाई न्यूनतम पाँच सय अमेरिकी डलर दिनुपर्ने हुन्थ्यो । त्यसैले सुरक्षा निकायले खोब्रागाडेलाई पक्राउ गरेपछि नाङ्गै पारेको भन्दै इण्डियामा तिब्र विरोध पनि भएको थियो । देववानी खोब्रागाडेको प्रवृति इण्डियामा हुर्किएको सामन्ती र दलाल संस्कार थियो । जुन नेपालमा पनि विद्यमान छ ।


नेपालमा भने हालसम्म श्रमिकहरुको न्यूनतम ज्याला सरकारले तोकेपनि कार्यन्वयन हुन सकिरहेको छैन । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले यो ऐन ल्याएका थिए । अहिले काठमाडौंका कतिपय सभ्रान्त घरधनीहरु कहाँ काम गर्न बसेका मानिसहरुको अवस्था कहाली लाग्दो छ । काठमाडौंमा घरेलु कामदारका रुपमा काम गरिरहेकाहरुको अहिले बालबच्चा देखि घर मालिकहरुकै कपडा धुने र भाडा माझ्नेहरुको अत्यन्तै न्यूनतम तलब दिने गरिएको छ । तथापि सरकारको कुनै निकायको ध्यान जान सकिरहेको छैन ।


केहि समय अघि पूर्व सचिव अर्जुन कार्कीको घरमा काम गर्ने एक कामदार विजय चौधरीले सचिव कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीलाई मारिदिए । विजयले ७ वर्ष अघि देखि काम गर्दै आएका थिए । उनलाई पढाउनका लागि भन्दै घरमा काम गर्न ल्याएका थिए । तर, कार्कीले श्रम शोषण मात्रै गरे । जागिर पनि लगाइदिएनन् ।

पढ्ने वातावरण पनि मिलाइदिएनन् । घरेलु कामदार चौधरीकी आमा सिकिस्त बिरामी भएको र कार्कीले तलब नदिएको भन्ने कुरा सार्वजनिक भएको थियो । तर, गरिब र निरिह भएका कारण चौधरीलाई नै दोषी देखाएर प्रहरी प्रतिवेदन तयार गरियो ।


त्यसै गरी पूर्व राजदुत केशव झालाई पनि उनकै घरमा काम गर्ने सानु कान्छा तामाङले नै मारिदिए । तर, पूर्व राजदुत झाले कहिले देखि कामदारको श्रम शोषण गरिरहेका थिए वा घट्नाको तथ्य बाहिर आउन सकेन । यसरी घरेलु कामदारहरुलाई घरधनीले समयमा तलव नदिने, अत्यन्तै न्यून तलवमा काममा लगाउने, झुठा आश्वासन दिएर राख्ने, श्रम शोषण गर्ने गरेका कारण नै अधिकांश घट्ना घटेका छन् ।


नेपाल चेम्बर अफ कमर्शका कार्यकारिणी सदस्य राजा रत्न तुलाधरको वानेश्वर स्थित आलोकतारा मार्गमा रहेको घरमा काम गर्ने एक युवति झुण्डिएर मरेको समाचार आयो । तर, उनको पोष्टमार्टमा के रिपोर्ट आयो ? समाचार आउन सकेन । यसबारेमा राजा रत्न तुलाधरलाई सोध्दा प्रहरीलाई जिम्मा दिएको भन्दै उम्किए । अहिले पनि उनका घरमा दुई जनालाई काममा राखिएको छ । एक जना बच्चा १२ वर्षकी पनि छैनन् । नत न्यूनतम् तलब दिइएको छ, नत पढाइएको छ ।


काभ्रेपलाञ्चोकका सानी मैया खत्रीले नयाँ बानेश्वरमा एक घरधनी कहाँ मासिक ५ हजारमा बिहान बेलुकीको जुठा भाडा माझने, लगाएको सबै कपडा धुने, घर छत देखि तलसम्म सरफले पुछ्ने, गरी दैनिक झण्डै ८ घण्टा काम गर्छिन् । तर मासिक मात्रै पाँच हजार पाउने गरेकी छन् । यसरी घरेलु कामदारहरुलाई अत्यन्तै न्यून तलबमा मासिक रुपमा काम गराइएकोे छ । तथापि अत्यन्तै कम रुपैयामा काम गरेका घरेलु कामदारहरुलाई समयमा तलबसमेत नदिने गरिएको पाईन्छ ।
सिन्धुपाल्चोक मुडेकी बिन्दा भण्डारीले पनि कांडाघारीमा एक पटक लुगा धोएको मात्रै दुई सय देखि पाँचसय सम्म पाउने गरेकी छन् । मासिक रुपमा काम गर्दा उनले पाँच हजार पनि पाउँदिनन् । यसरी सरकारले तोकेको न्यूनतम ज्याला नपाएर पीडित बनेका उनीहरु उदाहरणका पात्रहरु मात्रै हुन् ।
लकडाउनका समयमा तीनै कष्टकर जीवन बिताएक कामदारहरुलाई निकालिदिएका छन् । यसरी कोरोना सर्ने भन्दै उनीहरुले निकालेर नयाँ मानिसलाई झनै कम रुपैयामा काममा लगाएको पाईन्छ । उनीहरुले पाँच वटा घरमा मरी मरी काम गर्दा पनि मासिक १० हजार नपाउने अवस्था रहेको छ । निहुरेर कपडा धुँदा बिरामी हुने र अड्डी खिइने रोग लाग्ने प्रवल सम्भावना रहन्छ ।
कतिपय घरधनीहरुले साबुन र सरफ पनि कम मात्रमा प्रयोग गर्न दिएर सफा नभएको भन्दै गाली समेत गर्ने गरेको पाईन्छ । मासिक ५ हजार पनि कमाउन नसक्ने घरेलु कामदारहरुको बीमा समेत गरिएको हुँदैन । मार्वल लगाएका घरमा लडेर घाइते भएको अवस्थामा कसले उपचार गर्ने ? सरकार मौन छ ।
वीर अस्पतालको ट्रमा सेन्टरमा काम गर्ने दुई जना कामदार लडेर मरे । तिनीहरुका जीवन बीमा गरिएको थिएन । असुरक्षित तवरले काम गर्ने मजदुरहरुका बीमा लगायतका व्यवस्था गरिएको छैन ।
काभ्रेपलाञ्चोक भुम्लुङ गाउँपालिकाका ठूलो कान्छो थापाको काडाघारी काठमाडौंमा घर बनाउँदा फर्मा ठोक्दा चार तलाबाट लडेर मेरुदण्ड भाचियो । उनी अहिले ह्वील चेयरमा हिड्न बाद्य छन् ।
घरधनीको पाँच करोडको घर डेड करोडको गाडी श्रमिक चरम शोषणमा
काठमाडौंका अधिकांश घरधनीहरु घरेलु कामदारहरुको शोषण गरेका छन् । कतिपय महिला कामदारहरु यौन शोषणमा पर्ने र आत्महत्यासमेत गर्ने गरे तापनि पैसा र पहुँचकै भरमा प्रशासन पनि नतमस्तक हुने गरेको पाईन्छ । कामदारलाई न्यूनतम तलब १३४५०÷– नदिने तर, उनीहरु करोडौं फजुल खर्च गर्ने गरेका छन् । त्यसैकारण सामाजिक सुरक्षा कर समेत राज्यले पाउन सकेको छैन ।

वि.स.२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा तत्कालिन माओवादीका नेता प्रचण्डले काठमाडौंका सुकिला मुकिलाले जनताले आफुहरुलाई साथ नदिएको भनेर भाषण गर्दा भनेका थिए ।

वास्तवमा सुकिला मुकिलाहरुले घरेलु मजदुरलाई अत्यन्तै शोषण गरेका कारण यसलाई सरकारले तुरुन्तै ऐन कार्यन्वयनमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताउँछन्, यातायात क्षेत्र सुधारका अभियन्ता प्रेम बहादुर थापा ।

जुन कुरा अहिले पुष्पकमल दाहाल प्रचण्डले बिर्सिसकेका छन् । प्रचण्डले परिवर्तनका खाका बिर्सेका कारण उनी अहिले केपी ओलीको दौरा पकड्न पुगेको प्रेम बहादुर थापाको ठम्याई छ ।


चाडबाँड र बिरामी हुँदा पनि मानबीय व्यवहार नहुने


घरेलु कामदारका परिवार वा उनीहरु आफै बिरामी पर्दा पनि कतिपय घरधनीहरुले कुनै आर्थिक सहयोग नगर्ने गरेका छन् । यसरी मानविय व्यवहार पनि घरधनीको पाइदैन । नत, राज्यले नै कडा रुपमा प्रस्तुत भएर उनीहरुको पक्षमा न्याय दिएको देखिन्छ । मजदुर र गरिबहरुो कहिँ पनि बीमा गरिएको अवस्था छैन ।


सहकारीमा पनि श्रम शोषण


सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको अहिले पनि ६ हजार देखि १२ हजारसम्म दिने गरिएको छ । बिहान नौ बजे देखि बलुकी छ बजेसम्म उनीहरुले काम गर्ने गरेका छन् । यसरी न्यूनतम ज्याला नपाउँदा समेत सरकारले अनुगमन गरेको पाइदैन ।


निजी क्षेत्रमा काम गर्नै महिलाहरु पनि शोषणमा

कतिपय निजी कम्पनीहरुमा काम गर्ने महिलाहरुलाई पुरुषको भन्दा महिलाको कम तलब दिने गरेका छन् । ‘समान कामको समान ज्याला’ भनेर कम्युनिस्ट र महिलावादीहरुले नारा लगाउने गरे पनि अहिले पनि महिला र पुरुषबीचको विभेद कायमै छ ।


होटलमा काम गर्ने कामदारको पनि श्रम शोषण


गरिब, असाहाय र बिपन्नको नाममा बजेट छुट्टाएको भएपनि सरकारले अनुगमन नगर्दा अहिले पनि कतिपय होटलमा १६ वर्ष नपुगेका कामदारहरु काम गरिरहेका छन् । तर, पनि अनुगमन हुन सकिरहेको छैन ।


माग्नेहरुको पनि पनि व्यवस्थापन भएन


माग्नेहरुलाई व्यवस्थापन गर्ने भनिएपनि अहिले पनि बाटोमा प्रशस्त माग्नेहरु देखिन्छन् । ‘कोहि पनि मानिस भोकले मर्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको बोलीलाई शहरका माग्नेहरुले झुठो बनाइदिएको छ ।


जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालय बेखबर

जेष्ठ नागरिक तथा बालबालिका मन्त्रालय अहिले पनि रमिते बनेर बसिरहेको छ । काठमाडौंमै बालबच्चाहरुलाई घरेलु कामदारका रुपमा राखिएको अवस्था भएपनि अनुगमन चाहिँ शून्य प्राय छ । मन्त्रालयका कर्मचारीहरु एनजिओ र आइएनजिओको निमन्त्रणमा विदेश भ्रमणमा व्यस्त हुने गरेका छन् । उनीहरुलाई अशक्त, अपांग र जेष्ठ नागरिकहरुको चिन्ता नै नभएको हो कि भन्ने अवस्था देखिन्छ ।

सम्बन्धित खबर