सर्वहारा नेता शालिकराम जमकट्टेलले किने त्रिशुली किनारको जग्गा : श्रीमतीको नाममा लालपुर्जा

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १७ असार । माओवादी जनयुद्धमा रगत बगाउने हजारौं युवा कार्यकर्ता र पूर्व जनसेना आफ्नो जीवन पाल्नकै लागि खाडी मुलुक भासिएका छन् ।

घाइते अपाङ्ग र शहिद बेपत्ता परिवारको अवस्था नाजुक छ । जनयुद्धदेखि शान्तिपूर्ण राजनीतिसम्म आउँदा जंगलदेखि सडकसम्म माओवादी पार्टीलाई काँध थापेर हिँडेका मजदुरहरु हातमुख जोर्नै मुस्किल अवस्थामा छन् ।

तर, तीनै मजदुरको नाममा राजनीति गर्ने एक नेताले भने आफन्त र नातागोताको नाममा करोडौं सम्पत्ति जोडेका छन् । कोरोना महामारीकै समयमा ती नेताले आफ्नी श्रीमतिको नाममा करोडौं पर्ने जग्गा पास गरेको पाइएको छ ।


कुनै समय मजदुरका पक्षमा खुल्लामञ्चमा चर्को भाषण गरेर चर्चामा आएका शालिकराम जम्मकट्टेल उर्फ ‘गम्भिर’ले आफ्नी श्रीमतीको नाममा करोडौंको जग्गा जमिन जोडेको फेला परेको छ । आफूलाई सर्वहारा कम्युनिस्ट नेता बताउने जमकट्टेलले धादिङका त्रिशुली नदि किनारका जग्गाहरु श्रीमती लक्ष्मी गाइ श्रेष्ठको नाममा किनेको पाइएको हो ।

पार्टीका सामान्य कार्यकर्तालाई समेत जिल्ला पार्टी कार्यालय भवन बनाउन चन्दा उठाइरहेको समयमा जम्मकट्टेलले भने श्रीममतीको नाममा बालुवा खानी किनेका हुन् ।


मुलुकमा कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहरको महामारी चलिरहँदा धादिङ समेत अछुतो हुन सकेन । कोरोना महामारीले जनता मरिरहेको बेला धादिङका जनप्रतिनिधि जनतासँग थिएनन् ।

जम्मकट्टेल गत पुस १० मा बागमति प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजिनामा दिएर अर्को सरकार बनाउने कोशिसमा थिए । कोरोनाको दोस्रो लहर शुरु भएपछि सरकारले निषेधाज्ञा लागु गरेको थियो ।

निषेधाज्ञाकै अवधिमा जमकट्टेलले आफ्नी श्रीमतीको नाममा धादिङको सिद्धलेक गाउँपालिका साविक कुम्पुरस्थित हरेटारको साविक वडा नम्बर ६ को सिट नम्बर घ को कित्ता नम्बर १७३ र १७४ नम्बरका करिब ६ रोपनी जग्गा पास गराएका हुन् ।


दियोपोस्टले फेला पारेको जग्गाधनी प्रमाण पत्र अनुसार २०७८ वैशाख ८ गते उक्त जग्गा पास पास भएको देखिन्छ । स्रोतका अनुसार जम्मकट्टेलले उक्त जग्गा एक करोड भन्दा बढी मुल्यमा रुपैयाँमा खरिद गरेका हुन् । तर, कागजी रुपमा भने कर छली गर्नका लागि थोरै देखाइएको मालपोत कार्यालय सम्बद्ध स्रोतले दियोपोस्टलाई जानकारी दियो ।

धादिङको सिद्धलेक गाउँपालिका कुम्पुरस्थित उक्त क्षेत्र त्रिशुली नदिसँग जोडिएका भूभाग हुन् । ती स्थानबाट प्रशस्त बालुवा निकालिँदै आएको थियो । साना किसान सहकारी संस्था कुम्पुरका प्रबन्धक विष्णु प्रसाद थपलियाले साना किसानको करोडौँ रकम हिनामिना गरेको आरोप छ ।

हिनामिनाको रकम उनले जग्गामा लगानी गरेको समेत स्रोतले बतायो। उनको सम्पत्तिमाथि विभिन्न निकायले छानबीन थालेपछि जमकट्टेललाई जग्गा विक्री गरिएको स्रोतको दाबी छ ।

शक्तिशाली व्यक्तिलाई जग्गा विक्री गरेपछि आफूमाथिको कारबाही रोकिने विश्वासले उनले जम्मकट्टेललाई विक्री गरेको समेत कतिपयको आरोप छ ।

५ रोपनी जग्गा ९ लाख ५० हजारमा विक्री गरेको हुँ : थपलिया


यसैबीच उक्त जग्गा विक्रीको विषयमा प्रतिक्रिया लिन दियोपोस्टले जग्गा विक्रीकर्ता विष्णु प्रसाथ थपलियालाई फोन गर्दा आफुले ९ लाख ५० हजारमा उक्त जग्गा लक्ष्मी श्रेष्ठलाई विक्री गरेको बताए ।

आफूले शुरुमा राजन खतिवडाबाट आठ लाख रुपैयाँमा एक वर्षअघि किनेको जग्गा हाल लक्ष्मि श्रेष्ठलाई बेचिएको उनले बताए । तर खतिवडाले भने उक्त जग्गा २ वर्षअघि नै प्रति रोपनी १० लाख रुपैयाँका दरले २० लाख रुपैयाँमा २ रोपनी जग्गा थपलियालाई विक्री गरेको स्रोतले बतायो ।

हाल उक्त क्षेत्रमा प्रति रोपनी २० देखि २५ लाख रुपैयाँ रोपनीमा जग्गा किनबेच भएको जानकारहरु बताउँछन् । जमकट्टेलकी श्रीमतीले ९ लाख ५० हजारमै ५ रोपनी जग्गा कसरी पाइन् भन्ने नै आश्चर्यको विषय छ ।

विष्णु थपलिया भन्छन्,‘मैले साना किसानमा अनियमितता गरेको छैन, व्यावसाय गरेको हुँ’


पार्टी कार्यालय भवन बनाउन चन्दा उठाउँदै कार्यकर्ता


यता धादिङमा क्रियाशिल नेकपा माओवादी केन्द्रका कार्यकर्ता भने जिल्ला पार्टी कार्यालय भवन बनाउन चन्दा उठाइरहेका छन् । केहीदिन अघि निलकण्ठ नगरपालिकाका अध्यक्ष दीपक विश्वकर्माले पार्टी कार्यालय भवन बनाउन १ लाख रुपैयाँ सहयोग गरेको सार्वजनिक भएको थियो ।

जिल्ला इन्चार्ज जमकट्टेलले भने कति रुपैयाँ दिए खुलाइएको छैन ।

‘हामी कार्यलय बनाउन चन्दा उठाउँदै छौँ । तर, नेताहरुले व्यक्तिगत सम्पत्ति जोड्नमा केन्द्रित छन्,’ जिल्लामा क्रियाशिल एक कर्याकर्ता भन्छन्,‘नीजि स्वामित्व र नीजि सम्पत्तिको विरोध गर्ने कम्युनिस्ट नेताले विभिन्न ठाउँमा जग्गा जोडेको सुन्दा हामीले कस्तो नेता पाएछौँ भनेर धिक्कार लाग्छ ।’

जमकट्टेलले फोन उठाएनन्


यस विषयमा प्रतिक्रया लिन नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज तथा वागमति प्रदेशका संसदीय दलका नेता शालिकराम जमकट्टेललाई पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।