काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले तत्कालीन केपी शर्मा ओली सरकारसँग आफूहरूले गरेको तीन बुँदे सहमतिको सरकारका तर्फबाट पालना नभएको भन्दै यस्तो चेतावनी दिएको हुन् ।
विभिन्न मुद्दामा जेल परेका आफ्ना पार्टीका नेता–कार्यकर्तालाई रिहा गर्ने सहमतिको बुँदाविपरीत अदालतले नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्नु उनले षड्यन्त्र भनेका छन्।
‘देश र जनताका विद्यमान यावत समस्याका विरूद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरूद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जारी भएको पक्राउ पुर्जी रोकिएन र तीन बुँदे सहमति तदारूकताका साथ पालना गरिएन भने आफूहरू पनि हात दही जमाएर नबस्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।