
काठमाडौं । गठबन्धनको सरकारले विप्लव समूहलाई पक्राउ पुर्जी जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा विरोध गरेको छ ।
बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् । उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए ।
उनले भने–‘म प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन र उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने जुन बाटो रोज्नु भएको छ त्यसलाई प्रोत्साहन गर्न पनि नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्तै, प्रतिरोध आन्दोलनले पनि पक्राउ पुर्जी जारी गरिएकोप्रति विरोध गरेको छ । प्रतिरोधका अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डितले एक विज्ञप्तिमार्फत राजनीतिक रूपमा उठ्ने फरक मतप्रति सरकार असहिष्णु रहेको साथै राष्ट्रघातविरुद्ध आवाज उठाउनेलाई तर्साउन पक्राउ पुर्जी जारी गरेको टिप्पणी गरेका छन् ।