छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–२ डोमराहा टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्य हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीया देवकी देवी यादव रहेकी छिन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुर हुँदै प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी नुवाकोटको बिदुर नगरपालिका–५ तल्लो पिपलटारस्थित सडकमा बा.९१ प ६६५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २८ वर्षीय कबिन कुमाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

साथै महोत्तरीको पिपरा गाउँपालिका–३ स्थित सडकमा प्रदेश २–०२–००४ प ४९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मडई बस्ने ३५ वर्षीय श्रवण कुमार भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस