
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को चौथो समीक्षा अवधिमा ३० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको मुख्य व्यवसायबाट हुने आम्दानी बढ्दै जाँदा सञ्चालन नाफामा पनि उल्लेखनीय वृद्धि भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १३ लाख ५१ हजार रुपैयाँ मात्र थियो । यस वर्ष भने बैंकले उल्लेख्य नाफा कमाएको देखिएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२।८३ को चौथौ वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको देखिएको छ । विशेषगरी नाफा, प्रति शेयर आम्दानी, सञ्चित नाफा र जगेडा कोषमा भएको वृद्धि आदि बैंकको नाफा बढ्नुका कारक हुन् ।
त्यस्तै, सञ्चालन नाफा पनि ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै शेयरधनीले प्रत्यक्ष रूपमा हेर्ने सूचक प्रति शेयर आम्दानी अर्थात् (ईपीएस) मा पनि ठूलो वृद्धि आएको छ ।
अघिल्लो वर्ष शुन्य दशमलव ११ रुपैयाँ रहेको ईपीएस यस वर्ष २४ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै वितरणयोग्य ईपीएस १४ रुपैयाँ ३८ पुगेकाले भविष्यमा लाभांश वितरण गर्ने क्षमता समेत बलियो बनेको छ ।
बैंकको आम्दानीका प्रमुख स्रोतहरू पनि बिस्तार भएको रिपोर्टमा उल्लेख छ । खुद ब्याज आम्दानी १४ दशमलव ७२ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी १५ दशमलव १५ प्रतिशतले बढेको छ । यसका कारण कुल सञ्चालन आम्दानीमा समेत सकारात्मक वृद्धि देखिएको छ ।
पूँजी संरचनातर्फ बैंकको शेयर पूँजी एक अर्ब २४ करोड ९७ लाख रुपैयाँमै स्थिर रहेको छ । तर, सञ्चित नाफा अघिल्लो वर्षको तुलनामा बढेर १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यस्तै, जगेडा तथा बचत कोष ३९ दशमलव ९ प्रतिशतले बढेर ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ पनि १६७ दशमलव ३५ रुपैयाँबाट बढेर १७७ दशमलव ८५ रुपैयाँ पुगेको छ, जुन बैंकको सम्पत्ति मूल्यमा सुधार आएको संकेत हो ।
व्यवसाय विस्तारतर्फ ग्राहक निक्षेप १२ दशमलव ६३ प्रतिशतले बढेर १८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८ दशमलव ८३ प्रतिशतले बढेर १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । निक्षेपको वृद्धि कर्जाभन्दा उच्च रहेकाले बैंकसँग पर्याप्त तरलता रहेको देखिन्छ ।
यस्तै, पूँजी पर्याप्तता अनुपात (सिएआर) १२ दशमलव ५८ प्रतिशतबाट बढेर १४ दशमलव ६३ प्रतिशत पुगेको छ । बेस रेट ६ दशमलव ०२ प्रतिशतबाट घटेर ४ दशमलव ८७ प्रतिशतमा झरेको छ भने ब्याजदर अन्तर (स्प्रेड) ४ दशमलव ५५ प्रतिशतमा कायम रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफा, आम्दानी, जगेडा कोष, ईपीएस र पूँजी पर्याप्तताजस्ता महत्वपूर्ण सूचकमा उल्लेखनीय सुधार गर्दै आफ्नो वित्तीय अवस्था थप सुदृढ बनाएको छ । वित्तीय प्रदर्शनमा आएको यो सुधारले आगामी दिनमा बैंकको व्यवसाय बिस्तार र शेयरधनीलाई प्रतिफल दिने क्षमता अझ मजबुत हुने देखिएको छ ।