काठमाडौँमा ६ हजार भन्दा बढी सिलिन्डर ग्यास वितरण 

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौँमा सञ्चालित ५५ वटा ग्यास डिपोबाट ६ हजार २२८ सिलिन्डर ग्यास वितरण गरिएको छ । वितरण गरिएको ग्यासमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणलाई र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रतिष्ठानलाई वितरण गरिएको हो ।

खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाएको छ । ग्यासको वितरण प्रणालीलाई व्यवस्थित बनाउन डिपोहरूमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

सुकेधारास्थित श्री ग्यास डिपोबाट मात्रै व्यावसायिक प्रतिष्ठान तथा होटलहरूका लागि २ हजार ८ सय सिलिन्डर ग्यास वितरण गरिएको प्रहरीले जनाएको  छ ।

यस्तै, टोखास्थित जय कालिका ग्यास डिपोबाट २३४ सिलिन्डर ग्यास सर्वसाधारणलाई वितरण गरिएको छ ।

ग्यासको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न उपत्यकाका विभिन्न डिपो तथा बिक्री केन्द्रमा प्रहरीले निगरानी बढाएको जनाएको छ ।

सम्बन्धित खबर