
काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएपछि नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर गरिएको छ । उनले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’
छोचेन खोला र पुरेपु त्साङ्पो नदी त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन् । तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भएर बग्ने यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोसी हुँदै त्रिशूली नदी प्रणालीमा मिसिन्छन् । पुरेपु र छोचेन खोला रसुवागढी आसपासबाट नेपाल प्रवेश गर्छन् ।
बिहीबार बिहानसम्म पहिरोका कारण बनेको उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । चीनको जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान गरेको थियो । सम्भावित बाँध फुट्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेको थियो ।
ताल फुटेपछि त्यसबाट तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेको छ । यही जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको हो ।
पहिरोका कारण बनेको ताल फुटेपछि थप बाढीको जोखिम बढेसँगै चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको छ ।
अलजजिराले चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर टाढा हट्न आदेश दिइएको जनाएको छ । विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रमा अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ ।
ताल फुटेसँगै त्यसबाट निस्किएको पानीको प्रभाव नेपालतर्फ समेत पर्न सक्ने भएकाले रसुवाको भोटेकोसी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।