बाढीपीडित राहतका नाममा ठगी बढ्दो, सरकारी खातामै रकम पठाउन आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितका लागि संकलन भइरहेको राहत सहयोगमा ठगी हुन थालेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ ।

बाढीपीडितलाई सहयोग गर्ने नाममा केही व्यक्तिले व्यक्तिगत बैंक खाता, ई-वालेट तथा नक्कली क्यूआर कोड प्रयोग गरी रकम संकलन गर्न थालेपछि प्रहरीले सहयोगदातालाई आधिकारिक माध्यमबाट मात्र रकम पठाउन आग्रह गरेको हो ।

साइबर ब्युरोले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता तथा ई-वालेटमार्फत रकम माग्ने गतिविधिप्रति सचेत रहन अनुरोध गरेको छ । त्यस्तै, सरकारी तथा आधिकारिक निकायका लोगो, नाम र ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोडबाट समेत रकम संकलन हुन सक्ने भन्दै प्रहरीले त्यस्ता गतिविधिबाट जोगिन आग्रह गरेको छ ।

प्रहरीले विपद्का बेला सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सरकारका आधिकारिक खाता र प्रमाणित क्यूआर कोडमार्फत मात्र रकम पठाउन अनुरोध गरेको छ । राहतका नाममा व्यक्तिगत खातामा रकम पठाउँदा ठगीको जोखिम हुने भएकाले रकम पठाउनुअघि सम्बन्धित खाताको आधिकारिकता यकिन गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले विपद्को समयमा पीडित तथा मृतकका गहना र सामान लुटपाट गर्ने वा राहतका नाममा अमानवीय गतिविधि गर्ने व्यक्तिलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।

बुधबार आएको आकस्मिक बाढीका कारण रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले राहत तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरेको थियो । त्यसपछि निजी क्षेत्र, विभिन्न संघ-संस्था तथा स्वदेश-विदेशमा रहेका नेपालीले पीडितका लागि सहयोग गरिरहेका छन् ।

विपद्का बेला असहाय नागरिकका लागि संकलन गरिएको राहत रकममा ठगी वा दुरुपयोग गर्नु गम्भीर सामाजिक अपराध भएकाले यस्ता गतिविधिविरुद्ध सम्बन्धित निकायले निगरानी र कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

सम्बन्धित खबर