राजस्व चुहावट गर्नेलाई जेल सजाय हुन्छ : अर्थमन्त्री खतिवडा

दियो पोस्ट  

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय गर्नुपर्ने बताएका हुछन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुनेगरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताए ।

बैठकमा पूर्वअर्थमन्त्रीहरुले भने यस विषयमा फरक फरक धारणा राखेका छन् । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व असुलीलाई प्राथमिकता दिने गरि विधेयकमा व्यवस्था गरिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले धेरै राजश्व अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन पनि सचेत हुनुपर्ने भन्दै कसुरअनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरि कानुनी ब्यबस्था गर्नुपर्ने धारणा राखे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजश्व चुहावट र अपचलन उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकोले तीनै पक्ष दण्डित हुनेगरी कानुन बनाउनुपर्ने बताए ।

अर्थ समितिको छलफलमा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको ब्यबस्थामा ब्यबसायीहरुले पनि असन्तुष्टि जनाइरहेका छन् । यसबारे व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराइसकेका छन् ।