घुसकाण्डमा मुछिएका वागमति प्रदेश ट्राफिक प्रमुखलाई उन्मुक्ती, कवाडी बेच्ने इन्सपेक्टर पुरष्कृत !

दियोपोस्ट संवाददाता

चितवन । नेपालमा सानालाई ऐन ठूलालाई चैन भन्ने उखान निकै चर्चित छ । ठीक त्यस्तै वाग्मती प्रदेश प्रहरी कार्यालयले सानामाथि कारबाही र ठूलालाई भने उन्मुक्ति दिने गरेको पाइएको छ ।


सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रदेश प्रहरीले प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो लगायतलाई निलम्बन गर्यो तर, उक्त घुस प्रकरणमा जोडिएका एसपी प्रकाश रानाभाटलाई भने उन्मुक्ति दिएको पाइएको छ ।

एसपी रानाभाटले मल्ललाई रकम उठाउन खटाएको खुलेपनि रानाभाटलाई प्रदेश प्रहरीले छानविनको दायरामा ल्याएन ।


प्रदेश प्रहरीको स्ट्रिङ अपरेशनका क्रममा मल्लसहितका प्रहरीहरु पक्राउ परेका थिए । यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा मल्लसहितका चार प्रहरीलाई पक्राउ गरेको थियो ।

डिएसपी विज्ञान बस्नेतको नेतृत्वमा गठित छानबीन समितिले एसपी रानाभाटलाई छानबीनको दायरामा ल्याउनुको सट्टा उन्मुक्ति दिएको हो ।

स्रोतका अनुसार एसपी रानाभाटले बागमती प्रदेश मातहतका असई, सई र इन्स्पेक्टर बस्ने पोष्टका इन्चार्जहरुलाई घुसको मासिक दररेट तोकेर असुली धन्दा चलाउँदै आएका छन् ।

इन्स्पेक्टर कार्यालय प्रमुख हुने पोष्टका लागि मासिक ५० हजारका दरले घुसको दररेट कायम गरेका छन् भने असई र सई बस्ने पोष्टको इन्चार्जका लागि २५ हजारको रेट तोकिएको छ ।

एसपी रानाभाटले रकम संकलनको लागि सिन्धुलीमा सरुवा भएका सई कृष्ण खड्कालाई परिचालन गरेका छन् ।

‘दयाकृष्ण भट्ट उर्फ अविरल’ कारबाहीको सट्टा पुरस्कृत !


महानगरीय प्रहरी बृत दरबारमार्गमा रहँदा निकै विवादित बनेका दयाकृष्ण भट्ट ‘अविरल’ चितवन पुगेपछि फेरी चोरी काण्डमा मछिएका छन् । चितवन ट्राफिक प्रहरीको प्रमुख रहेका भट्टले पुराना मोटरसाइकल, साइलेन्सर पाइप लगायतका कबाडी सामान मुचुल्का नै नउठाई सुटुक्क बिक्री गरेको खुलेको थियो ।


भट्टले २०७६ चैतमा ट्राफिक कार्यालय स्थापनादेखिका कवाडी सामान १ ट्रक बिक्री गरेको बारेमा बागमती प्रदेश प्रहरीले छानबिन गर्न प्रदेश ट्राफिकलाई भनेको थियो । तर, घुसको दररेट नै बनाएर असुली गर्ने एसपी रानाभाट इन्स्पेक्टर भट्टलाई जोगाउन लागि परेका छन् । स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालय हेटौंडाले भट्टमाथि छानबीन गरिरहेको छ ।

इन्स्पेक्टर भट्टले कारवाहीबाट जोगिन रातिराति विक्री गरिसकेको उक्त कवाडी पुनः जम्मा गरिसकेको स्रोत बताउँछ ।


एसपी रानाभाटको भरतपुर हाकिमचोकमा रहेको घर मर्मत र रङरोगन भट्टले मातहतकै प्रहरीले गरेको हुँदा उनले कवाडी सामान कार्यालयमै रहेको मुचुल्का बनाई बागमती प्रदेश प्रहरीमा पठाएका छन् ।

र, यो केसमा बागमती प्रदेश प्रहरी कार्यालयको आँखामा छारो हाल्न कवाडी नबेचेको भन्दै रिपोर्टिङ गरिसकेका छन् ।

इन्स्पेक्टर भट्टलाई जोगाउन खोजिएको मात्र छैन , सुटुक्क कवाडी बिक्री गर्ने चितवन ट्राफिकका भट्टलाई एसपी रानाभाटले पुरस्कृत गरेका छन् । कोरोना कहरका बीचमा उत्कृष्ट कार्य गरेको भनी भट्टलाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयले पुरस्कृत गरेको थियो ।

जबकि कार्यालय स्थापनादेखिका मोटरसाइकल र साइलेन्सर पाइप उनले बिक्री गरेको आरोपमा उनीमाथि बागमती प्रहरीले छानबिन गरिरहेको छ । रानाभाटले वाग्मती प्रदेशका डीआइजी बसन्त लामालाई गलत रिपोर्टिङ गगरेर भट्टलाई जोगाउन खोजेका छन् ।

सम्बन्धित खबर