दियोपोस्ट संवाददाता
धादिङ्ग, साउन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा देखिएको विवादको प्रभाव स्थानीय तहमा समेत देखिन थालेको छ । पार्टीको शीर्ष तह फुटको संघारमै पुगेको भान हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरु पुनः आ–आफ्नो समानान्तर संगठन बनाउन केन्द्रित रहेको पाइएको छ ।
धादिङ्ग जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का सांसद खेम लोहनीको निर्देशनमा पुर्व एमालेको कमिटी गठन गर्न स्थानीय तहमा पुगेको पाइएको छ । स्रोतका अनुसार लोहनीको निर्देशनमा धादिङ्गको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा ‘ओली गुट’ को समानान्तर कमिटी गठन भएको हो ।
वैधानिक कमिटी यथावत् रहेकै अवस्थामा लोहनी ठाडो निर्देशनमा वडा कमिटीलाई कुनै जानकारी नै नदिई समानान्तर कमिटी गठन गरेका हुन् । ज्वालामुखि–७ चैनपुर सांसद लोहनीको जन्मस्थान हो । केन्द्रमा विवाद हुन थालेपछि सांसद लोहनीकै निर्देशनमा वडामा ओली खेमाको समानान्तर समिती गठन भएको नेकपाका स्थानीय नेताले दियोपोस्टलाई बताएका छन् ।
स्थानीय भोटरहरुलाई जम्मा गरि अवैधानिक कमिटी गठन गरिएको ती नेताले बताए । स्रोतका अनुसार सुर्य इटनी अध्यक्ष र तेजप्रसाद खकुरेल सचिव रहने गरि कमिटी गठन गरिएको हो ।। नेकपाको वैधानिक वडा कमिटीमा शिवराज छत्कुली अध्यक्ष रहेका छन् भने साबित्रा आले सचिव रहेका छन् ।
समानान्तर कमिटीका अध्यक्ष रहेका सुर्य इटनीले पनि यस कुराको स्वीकार गरेका छन् । ‘माननीय ज्यू आउनु भएन, जिल्ला कमिटीका सदस्य झम्क परियार लगायत अन्य सदस्यहरु र वडाध्यक्ष सहितको उपस्थितीमा भेला भएको थियो’, उनले भने, ‘समानान्तर समिति बनाउने र मलाई त्यस समितिको अध्यक्ष बनाउने निर्णय गरेको हो ।’