गल्छी गाउँपालिकामा अर्को आश्चर्य : कृषि फर्मलाई बालुवा तस्करीको अनुमति !

दियो पोस्ट  

काठमाडौं, १८ साउन । व्यावसायीक फर्महरुको एउटा उद्देश्य हुन्छ । कम्पनिको प्रबन्ध पत्रमा नै आफूले के गर्ने कार्यको उद्देश्य उल्लेख गर्नुपर्छ । कृषीका नाममा खोलिएका कम्पनीले कृषी उत्पादन, वितरण तथा विक्री गर्न सक्छन् । तर, गल्छी गाउँपालिकाले भने कृषी फर्मलाई बालुवा उत्पादन तथा विक्रीको अनुमति दिएको पाइएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले एक कृषी फर्मलाई बलुवा झिक्ने, प्रशोधन गर्ने तथा विक्री गर्ने अनुमति दिएको पाइएको हो ।


श्रेष्ठले गल्छी गाउँपालिका ७ (साविक बैरेनी ८ ग)मा रहेको कित्ता नम्बर ५६,६०,६७,६८ का जग्गाहरुमा आशिष कृषी तथा टुरिजम प्रा.लीलाई ढुङ्गा, गिटी, बालुवा, माटो लगायत बस्तु उठाउने र विक्री गर्ने अनुमति दिएको पाइएको हो ।


स्थानिय राजु कमर लगायतको नाममा दर्ता कायम रहेको जग्गामा उक्त कृषी फर्मको नाममा बालुवा तस्करीको धन्दा हुँदै आएपनि नियमक निकाय मौन छ । स्थानियबासीका अनुसार स्थानिय प्रशासन, प्रहरी र सडक विभागलाई समेत आर्थिक प्रभावमा पारी अवैध बालुवा उत्खनन् तथा विक्री हुँदै आएको छ ।

राजमार्गबाट २५ मिटर भित्रै बालुवा उत्खनन् भइरहँदा समेत सडक विभाग मौनछ । स्रोतका अनुसार उक्त कम्पनीले बातावरणीय प्रभाव मुल्यांकन आइइ समेत नगरेको पाइएको छ ।


सडक किनारमै स्क्याभेटर प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् भइरहेको विषयमा स्थानिय प्रशासनले देखेपनि नदेखे जस्तो गरिरहेको छ । स्रोतका अनुसार तस्करहरुले प्रशासनलाई समेत आर्थिक प्रभावमा पारेका छन् ।


सडक किनारमै स्क्याभेटर लगाउँदा ग्रामिण सडक जाने बाटो समेत अवरुद्ध हुने गरेको छ । त्यस्तै विद्युत लाइन पोल समेत जोखिममा परेको छ । राजमार्गलाई समेत क्षेति पुर्याइरहेको स्थानिय बताउँछन् ।


कृषि फर्मलाई बालुवा झिक्ने अनुमति दिने गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठको नम्बरमा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।