‘पेट्रोल पम्पमा सिन्डिकेट’: पौडेलकै निर्देशनमा नयाँ आवेदन दर्ता नगर्न गैरकानुनी पत्र !

‘पेट्रोल पम्पमा सिन्डिकेट’: पौडेलकै निर्देशनमा नयाँ आवेदन दर्ता नगर्न गैरकानुनी पत्र !

विवेक अर्याल

काठमाडौं, २४ साउन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले आयल निगमले नै बनाएको नियमावलीकै धज्जी उडाएर गैरकानुनी गतिविधि गरेको पाइएको छ ।


पुराना पेट्रोल पम्पको सिन्डिकेट कायम गर्न नयाँ नमुना पम्पलाई आउनै नदिन पौडेलको निर्देशनमा नेपाल आयल निगम लि. पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ कै धज्जी उडाएर पत्राचार गरेको पाइएको छ ।


पौडेलको निर्देशनमा विभिन्न डिपोहरुलाई नयाँ नमुना पम्प दर्ता प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएको पत्र दियोपोस्टले फेला पारेको छ ।


नमुना पम्प विक्रेताको आवेदन दर्ता नगर्न भन्दै देशभर रहेका सातै प्रादेशिक कार्यालयसहित १० वटा निगम शाखाहरुलाई गत असार ३० गते गरिएको पत्राचारमा नेपाल आयल निगम लि. पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ मा संशोधन गरी विक्रेता नियुक्ती प्रावधानलाई समय सापेक्ष गृहकार्य भइरहेको भन्दै केही समयका लागि नयाँ नमुना पम्प विक्रेता नियुक्ती सम्बन्धी आवेदन दर्ता नगर्न आदेश दिइएको छ ।


निगमका कार्यकारी निर्देशक पौडेलको आदेशका आधारमा प्रबन्धक जगदिश चन्द्र यादवले देशभर पत्राचार गरेका हुन् ।


नेपाल आयल निगम लि. पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ को परिच्छेद २ मा रहेको वक्रेताको वर्गीकरण तथा नियुक्ती सम्बन्धी व्यवस्था को दफा ४ को उपदफा ५ मा ‘यस विनियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि साधारण बिक्रेता, पेट्रोल बिक्रेता तथा प्याक्ड बिक्रेताले यस विनियमावली वमोजिमको मापदण्ड पुरा गर्ने गरी नमुना पम्प बिक्रेतामा रुपमान्तरण हुन चाहेमा त्यस्तो बिक्रेताको हकमा नमुना पम्प बिक्रेता नियूक्त गर्न सूचना आवश्यक पर्ने छैन,’ भन्ने उल्लेख छ ।

अर्थात नमुना पम्प विक्रेताले जुन सुकै बेला पनि आवेदन दिनसक्ने कानुनी व्यवस्था हुँदा हुँदै पौडेलको निर्देशनमा देशैभर नमुना पम्पको आवेदन दिएका हजारौँ साना तथा मझौला व्यावसायीको लगानी ध्वस्त भएको छ ।


‘हामीले बैंकबाट ऋण लिएर सबै पुर्वाधार तयार पारेका थियौँ । तर, अहिले एउटा पत्रको आधार हाम्रो सबै लगानी त डुब्यो नै यसले हामीलाई सडकमा पुर्याएको छ,’ एक व्यावसायीले दियोपोष्टसँग भने,‘हालका कार्यकारी निर्देश पेट्रोल पम्प माफियाको प्रभावमा पर्नु भएको छ । नयाँलाई आउनै नदिने र पुरानाहरुको सिन्डिकेटलाई सहयोग गरिरहनु भएको छ ।’


ती व्यावसायीका अनुसार हाल कार्यकारी निर्देशक रहेका पौडेलले पुराना सिन्डिकेटधारी व्यावसायीहरुबाट आर्थिक लाभ समेत लिएका छन् ।

उनीहरुकै आर्थिक लाभका कारण उनले नयाँ आवेदन दिएका हजारौँ साना व्यावसायीको लगानी डुबेको छ ।

Trending News