मजदूरको नाममा बालुवा तस्करको जुलुश : कोरोना महामारीमा प्रहरीकै स्कर्टिङ !

मजदूरको नाममा बालुवा तस्करको जुलुश : कोरोना महामारीमा प्रहरीकै स्कर्टिङ !

दियोपोष्ट संवाददाता,
धादिङ, २५ साउन । जिल्ला प्रशासन कार्यालय धादिङले केही दिनअघि धादिङका कुनै पनि नदिनालाबाट नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएपछि बालुवा तस्करहरु सल्बलाएका छन् ।

उनीहरुले कोरोना भाइरसको महामारीकाबीच नारा जुलुश सहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई ज्ञापन पत्र बुझाएका छन् ।


उनीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष बालुवा तस्करी गर्न पाउनुपर्ने माग राखेका थिए । तर, तामाङले बालुवा तस्करीको लागि कुनै पनि हालतमा अनुमति नदिने बताएका थिए ।


बेल्खुस्थित त्रिशुली नदिको बीचमै स्क्याभेटर प्रयोग गरि नदिको धार नै बदलेर बालुवा तस्करी गर्दै आएका गणेशलाल श्रेष्ठले आन्दोलनको नेतृत्व गरेका थिए ।

श्रेष्ठको नेतृत्वमा आएका एक दर्जन भन्दा बढी टिफरमा मजदुर सहित विचौलियाहरु सहभागी भएका थिए । उनीहरुले सामाजिक दूरी त परको कुरा मुखमा मास्क समेत नलगाई जुलुश आन्दोलन गरेका थिए ।

आन्दोलनको नेतृत्व गर्ने श्रेष्ठ पूर्वमाओवादीका तर्फबाट गजुरी गाउँपालिका अध्यक्षको उम्मेवार समेत बनेका थिए ।

उनले खुलमखुल्ला बेल्खु खोला दोभान स्थित इन्द्रायणी बगरमा त्रिशुली नदिकै धार परिवर्तन गरेर नदिजन्य सामग्री तस्करी गर्दै आएको भएपनि राजनीतिक दबावमा प्रशासनले केही कारबाही गरेको छैन ।


त्यस्तै त्रिशुली नदिको रुम्टा बगरमा खोलामै स्क्याभेटर प्रयोग गरी बालुवा तस्करी गर्दै आएका केशव अधिकारी समेत आन्दोलनको अग्रपंतीमा थिए । उनीहरुले मजदुरको नाम लिएर आफ्नो तस्करी जारी राख्न माग गरेका हुन् ।

मासटारस्थित त्रिशुली नदिमा बालुवा तस्करी गर्दै आएका जगन्नाथ भनिने राम प्रसा अधिकारी पनि आन्दोलनको नेतृत्वमा थिए ।

टिफरमा चढेर आन्दोलनमा आएकाहरुलाई प्रहरीले नै स्कर्टिङ गरिदिएको थियो । यद्धपी जिल्ला प्रशासन कार्यालयले भने सामान्य भोजभतेर समेत नगर्न र भिडभाड नगर्न भन्दै आएको छ ।

Trending News