उपत्यकामा १२७ कोरोना संक्रमित थपिए, काठमाडौँमा मात्रै १११ जना !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २९ । बिहीबार एकैदिन काठमाडौँ उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । नेपालभर भेटिए कुल ५ सय २५ जना संक्रमितमध्य १ सय २७ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणम सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । प्रहरी अस्पतालमा बिहीबार काठमाडौँका ४८ जनालाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै स्टार अस्पतालमा काठमाडौँकै १९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । त्यस्तै बिहीबार नै १ सय ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएको कारणले अधिकतम स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । चाडपर्व मनाउदा तथा मृत्यु संस्कार गर्दा विशेष ध्यान दिनका लागि मन्त्रालयले बिशेष अनुरोध गरेको छ ।

सम्बन्धित खबर